काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुले बनाएको नेकपा एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय विस्तारित बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमालेहरुले अहिले पनि देशभरी आफूहरु पूरानै एमाले भनेर भ्रम छरिरहेको बताए । उनले भने, ‘त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो ।’
नेता खनालले आफूहरुले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै त्यहाँभित्र रहेको र उनीहरु भ्रममुक्त हुनुपर्ने बताए ।
नेता खनालले अबको चुनावमा केपी ओली नेतृत्वको नेकपा एमालेले दुई तीन वटा मात्र सिट ल्याउने पनि बताए । नेता खनालले भने ‘अब केपी ओली ओलीले ल्याउने भनेको दुई तिहाइ होइन, त्यसको उल्टो दुई तीनवटा चाहिँ ल्याउन सक्छन् । त्यहाँभन्दा बढी ल्याउन सक्ने मैले देखेको छैन।’
उनले दुई तिहाइ कहिलेकाहीँ मात्रै प्राप्त हुने उपलब्धि भएको बताए । संसद्मा नेकपाको दुई तिहाइ रहेको बेलामा धेरै काम गर्न सक्ने अपूर्व अवसर भएपनि ओलीले अवसर अनुसार काम नगरेको उनको भनाइ छ।














