
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्टको आवरणमा हुर्किएका ‘कू’ पात्रको संज्ञा दिएका छन् ।
समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको प्रथम विस्तारीत बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीलाई यस्तो संज्ञा दिएका हुन् । ‘रावण, कंश, शिुशुपाल, हिटलरहरुको प्रवृत्तिबारे पौराणिक साहित्य र इतिहासमा वर्णन गरिएको छ’ कार्यक्रममा उनले भने, ‘ठ्याक्कै यही प्रवृत्ति केपी ओलीमा लागू भएको छ ।’ इतिहासको कालखण्डमा ‘कू’ पात्र जन्मिइरहने चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रजातन्त्रमा पनि ‘कू’ पात्र जन्मिने गरेको बताए ।
‘केपी ओली कम्युनिष्टको आवरणमा जन्मिएका तानाशाह हुन्, त्यही प्रवृत्ति उनमा छ’ उनले भने, ‘यो प्रवृत्तिले संघीयता र लोकतन्त्र समाप्त हुन्छ ।’ समाजमा सबै प्रवृत्तिका मान्छे हुने बताउँदै अध्यक्ष नेपालले भने, ‘केपीको पार्टी र एकीकृत समाजवादीमा हुर्किएका प्रवृत्ति के-के हुन्, त्यो हामीले केलाउनुपर्छ ।’ संसारमा असम्भव भन्ने चिज केही पनि नहुने भन्दै उनले त्यसका लागि त्याग, निष्ठा, समर्पण, मेहनत, लगनशीलता आवश्यक पर्ने र निरन्तर साधना गर्नुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीप्रति देशभर जनलहर बढेको चर्चा गर्दै अध्यक्ष नेपालले त्यसको पुष्टि जनवर्गीय संगठनहरुले समेत गरिरहेका बताए । उनले समाचार लेख्नका लागि मात्रै लेख्न नहुने भन्दै लेखाई सन्देशमूलक र पढौँ-पढौँ लाग्ने किसिमको हुनुपर्ने बताए । सोही कार्यक्रममा अध्यक्ष नेपालले ‘हावामहलका कुशल कारिगर’ पुस्तकको विमोचनसमेत गरेका थिए ।














