Logo
Logo
स्थानीय तह निर्वाचन

तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी

केन्द्रीय समिति बैठक आज पनि बस्दै


7.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नुपर्ने सुझाव दिएका छन् । शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे कांग्रेसले मापदण्ड बनाउने तयारी समेत गरेको छ । कांग्रेसले पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने तयारी गरेको हो ।

कांग्रेसले २०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये २ सय ५३ तहमा जितेको थियो । कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा नगरपालिका र गाउँपालिकामा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल गर्ने तयारी गरेको हो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आएका छन् ।

नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतकाहरु नेताहरु पनि चुनावी तालमेलको पक्षमा छन् । कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा भने शेखर कोइराला पक्षका नेताहरु छन् । त्यस्तै वमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् । केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबारदेखि जारी छ । बैठकमा स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा छलफल भइरहेको छ । केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्