Logo
Logo

चोलेन्द्र प्रकरणः रक्षा, सुरक्षा र शिक्षा


वसन्त लोहनी

819
Shares

युद्धविराम भएपछिको जस्तै खामोसी छ । प्रहरीले राति घरबाटै उठायो र दिउँसो घरमै छोडिदियो पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई । प्रहरीले उनलाई पक्राउ गर्न नसक्ने भन्ने चाहिँ होइन, किनकि पूर्वप्रधानन्यायाधीश हुनुको अर्थ उनी कानुनभन्दा माथि निश्चित रूपमा छैनन् । तर कुरा विधिको हो । बिना कुनै अदालतबाट जारी पुर्जी वा प्रहरीको जरुरी पक्राउ पुर्जी बिना उनी १२ घण्टा हिरासतमा रहे । जसरी परिभाषित गरे पनि या अर्थ–अनर्थ जे लगाए पनि यो घटना चाहिँ रहस्यमय छ । यो रहस्यलाई झन् गहिरो पारेको छ उनको खामोशीले । चुपचाप छन् उनी अत्तालिएपछि होसमा आएको बालकजस्तै भएर ।

व्यवस्था परिवर्तन र सत्ता परिवर्तन दुई अलग–अलग अवस्था हुन् । नेपालको इतिहासमा यी दुवै शृङ्खलाबद्ध भएका छन् । विजेताका रूपमा राजाले शासन गरे, खोपाभित्र पनि अटाए, पुनः शक्तिशाली भएर शासन गरे र अन्ततः हटाइए पनि । छलफल गर्न खोजेको विषय यो होइन आज । केवल अलिकति मात्र छलफल गर्न खोजिएको सत्ता परिवर्तनसँग आबद्ध कुरा हो । यस्तो परिवर्तन महत्वाकांक्षा प्रदत्त भएको छ नेपालको इतिहासमा ।

श्री ५ राजेन्द्रविक्रम शाहकी कान्छी महारानी राज्यलक्ष्मी देवीको महत्वाकांक्षाले कोतपर्व भयो १९०३ सालमा । यसले जङ्गबहादुरको उदय गरायो । धीर शमशेरका १७ भाइ छोराहरूका महत्वाकांक्षाले गर्दा वीर शमशेरले आफ्नै काका श्री ३ रणोद्दीप सिंहलाई भाइ खड्गसँग मिलेर गोली हानेर मारे । यसपछि १७ भाइले शासन गर्ने रोलक्रम बन्यो । वीर शमशेरपछि लगत्तै श्री ३ बन्ने खड्ग शमशेरको आतुर महत्वाकांक्षा हार्दा उनलाई डाँडा कटाइयो पाल्पामा । चन्द्रशमशेरको महत्वाकांक्षाले जित्दा श्री ३ देवशमशेरलाई रिभल्भर तेर्साएर डाँडा कटाए धनकुटामा ।

नेपालको इतिहासमा महत्वाकांक्षाको, त्यति मात्र होइन, अति महत्वाकांक्षाको जित–हारमा सत्ता परिवर्तन हुँदै आएका छन् । ती सबै परिवर्तनहरू पहिले आन्तरिक तागत र रूपमा भएका हुन् । तर नेपालको इतिहासमा पछिल्ला चरणका परिवर्तनहरूमा आन्तरिकभित्र बाह्य प्रभाव मिसिएर हुने गरेका छन् । दूधमा पानी कि पानीमा दूध भनेझैँ मिसावटमा कुन धेरै कुन कम, त्यो अर्को कथा हो । त्यतापट्टि अहिले नजाऔँ । छलफलको विषय हो चोलेन्द्र शमशेरको १२ घण्टा लामो हिरासत ।

वीर शमशेरका सातौँ पुत्र इन्द्रका आठौँ पुत्र युवराजका तेस्रो पुत्र चोलेन्द्र । नाम नै निराला छ यस अर्थमा कि यो नामको भाषागत आफ्नै अर्थ छैन । नयाँ सडकको पुरानो भन्सारअगाडि तत्कालीन काठमाडौँ नगरपञ्चायतबाट कानुन अधिकृतका रूपमा उनले २०४४ सालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । त्यतिबेला निर्वाचित प्रधानपञ्च प्रतिबन्धित नेपाली काङ्ग्रेसका नेता हरिबोल भट्टराई थिए । जागिर छोडेर वकालत गर्न थालेका उनी २०५३ सालमा अदालत प्रवेश गरेका हुन् ।

पुनरावेदन अदालत बुटवलबाट सर्वोच्च अदालतमा न्यायाधीश भएर आएपछि जब उनी नेपालका २८ औँ प्रधानन्यायाधीश बने २०७५ सालमा, त्यसपछि प्रधानन्यायाधीशको तागतमा उनले गर्नु–नगर्नु गरे । उठ्ती–पुट्तीको भन्सार मात्र बनाएनन्, सत्ताको भागबन्डामा आफ्नो हिस्सा पनि लिन थाले । अदालतलाई न्याय दिनेभन्दा न्याय बाँड्ने अड्डामा रूपान्तरण गरे । आफ्नो लहड, तत्कालको आवश्यकता र आफ्नो स्वार्थअनुरूप अदालतका फैसला हुन थाले । यसका प्रमाण अनगिन्ती छन् ।

आफू जेमा पनि प्रयोग हुन सक्ने र अरूलाई पनि प्रयोग गर्न सक्ने उनको अतुलनीय क्षमताको परिणति बनेको न्यायपालिकामा भद्रगोल हुन थाल्यो । न्यायाधीशहरूले बेन्च बहिष्कार गर्ने र बार एसोसिएसनले उनको विरुद्ध मोर्चाबन्दी गर्नुपर्ने स्थिति आयो । अनवरतको भद्रगोलपछि आजित भएका राजनीतिक नेतृत्वपङ्क्तिले अन्ततः महाभियोग लगाएर उनलाई हटायो । हालसालै मात्र उनको महाभियोग सर्वोच्चबाट तुहियो र उनले पेन्सन खान पाउने भएका छन् ।

तर पेन्सन खाएर बस्नेमा सीमित हुने मान्छे चोलेन्द्र होइनन् । देवकोटाले भनेका थिए एकपटकः ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ । उनी आफ्नो महत्त्वाकाङ्क्षाको उडान भर्न चाहने मान्छे । वंशानुक्रम श्री ३ वीरसँग जोडिएको हुनु एउटा कथा हो, तर आफू उभिएको धरातल नितान्त अर्को कुरा हो ।

एउटा मात्र सन्दर्भ हेरौं । श्री ३ मध्ये सबैभन्दा धनी चन्द्रशमशेर थिए, जो २८ वर्ष श्री ३ भए । उनले प्रथम विश्वयुद्धको लाखौँ–लाख पाउन्डको क्षतिपूर्तिसमेत गरिबका परिवारलाई नदिएर आफैँले पचाई बेलायतमै राखेर छोराहरूलाई बाँडेका थिए ।

तिनका छैटौँ छोरा बद्रीशमशेरका छोरा प्रह्लादशमशेर अमेरिकी नियोगको टाइपराइटर चोरी गरेको अभियोगमा पछि जेल परेको इतिहास साक्षी छ । भन्न खोजिएको प्रस्ट यति मात्र हो-वंशागत पुस्ताहरू उभिएको आ–आफ्नो धरातल हुन्छ । कानुन अधिकृतमा जागिर खाँदा सामान्य आर्थिक हैसियतका चोलेन्द्र शमशेर महत्वाकांक्षाकै बलमा धेरै माथि पुगेका छन् ।

न्यायाधीशको सम्पत्ति छानबिन गर्न नहुने बनाउनेमा अप्रत्यक्ष रूपमा उनको ठूलो योगदान छ । एउटा प्रश्न गरौँ यहाँनिर ? नेपालको संविधानले कसैलाई पनि-राज्यको जतिसुकै माथिल्लो ओहोदामा रहेको व्यक्ति किन नहोस् । के भ्रष्टाचारबाट उन्मुक्ति दिएको छ र ? शतप्रतिशत छैन, चाहे जस्तोसुकै नियम, कानुन र नीतिगत निर्णयको जालो बुनून् ।

फेरि देवकोटाले भनेको अर्को प्रसङ्गः

‘स्वस्थ कल्पनाले मान्छे कवि हुन्छ भने अस्वस्थ कल्पनाले पागल ।’ कवि भन्नाले यहाँ वस्तुपरक ढङ्गबाट हेर्ने र कल्पना गर्न सक्ने अर्थमा लिइएको छ । नेपालमा अहिलेको समस्या भनेको अस्वस्थ कल्पनाले हाँकेको अति महत्वाकांक्षा नै हो ।

तारतम्य मिलाउन सके हार्मोनियम बजाउने मान्छे या कसैकी गर्लफ्रेन्ड भएकै भरमा ओ राजदूत हुन सक्छ भने म किन हुन नसक्ने ? एउटा रेडियो जोकी या टेलिभिजन एङ्कर मन्त्री हुन सक्छ भने म किन नहुने ? फलानो प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्छ भने म किन नहुने ? मुख्य कुरा भित्री–बाहिरी तारतम्य मिलाउने त हो नि! यसरी ‘त्यो सम्भव छ भने जे पनि सम्भव छ’ भन्ने मानसिकतामा चङ्गा उडाउने प्रचलन सम्हाल्न नसकिने गरी बढेको छ आजको नेपालमा । अलिकति टाठोबाटो हुनेबित्तिकै ‘एनजीओ-चङ्गा’ उडाएर आकासिन चाहन्छन् जो पनि ।

यसको फलस्वरूप अनेकौँ खेल खेलिँदै आइएका छन् यहाँ-जेन्जीदेखि फर्जीसम्म । चोलेन्द्र शमशेरको १२ घण्टा लामो प्रहरी हिरासतको रहस्य यो पाटोबाट खुल्दै जानेछ । उनको सुरक्षाका लागि प्रहरी कार्यालय लगिएको र प्रधानन्यायाधीश भइसकेका अति चतुर चोलेन्द्र शमशेर बिनापुर्जी लुरुलुरु त्यहाँ सुरक्षाको लागि गएका हुन् भन्ने कुरा जस्ताको तस्तै कसैले पनि विश्वास गर्दैन । अहिले घरमा सुरक्षा दिएर बस्न मिलेको छ भने गत शनिबार उनलाई १२ घण्टाका लागि किन लगियो ?

आउने दिनमा उनको मौनतामा पनि स्वर भरिएलान सत्ताभित्र र सत्ताबाहिरका शक्तिसङ्घर्षमा राजनीतिक एलाइनमेन्ट र रिअलाइनमेन्ट अर्थात् संरेखण र पुनर्संरेखणमा पनि अदली-बदली हुँदै जाला । अहिलेलाई यो प्रकरणबाट सरकारले आफ्नो रक्षा गर्ने चलाखी गरेको छ, चोलेन्द्र शमशेरले आफ्नै घरमा थप सुरक्षा पाएका छन् र भित्री-बाहिरी दृश्य-अदृश्य शक्ति तथा राजनीतिक पार्टीहरूलाई नयाँ शिक्षा दिएको छ ।
चेतना भया ।

प्रतिक्रिया दिनुहोस्