Logo

नेहरुको समाजवाद कि दक्षिण कोरियाको मोडल ?


Published On : 8 January, 2019


चीनमा देङ स्याओ पिङले अपनाएको जस्तो मोडल अपनाउन पनि नेकपाले सक्दैन । बाँकी रह्यो नेहरु इन्दिरा गान्धीको मोडल । नेकपाले त्यही कथित समाजवादी मोडल अपनाइरहेको छ । त्यो भनेको नाम समाजवादको तर व्यवहारमा प्रतिक्रियावादी नोकरशाही तथा दलाल पूँजीवादको मोडल । यसले नेपालमा औद्योगिक क्रान्ति गर्न दिने छैन ।

रवीन्द्र श्रेष्ठ । दक्षिण कोरियामा मजदुरी गर्न जानको लागि कोरियन भाषा परीक्षामा ८२ हजार नेपाली युवायुवतीहरु सहभागी भए । यो यसै वर्षको जेठ महिनाको कुरा हो । त्यहाँ मजदूरी गर्न जानका लागि किन नेपाली युवाहरु मरिहत्ते गर्छन् त ? किनभने त्यहाँ काम गर्न जान कोरियाली सरकारको भिसा पाउनु भनेको जिन्दगी बन्नु भएको छ । त्यहाँ मजदूरी गर्दा पाइने न्यूनतम तलब नेपालको प्रधानमन्त्रीको तलबभन्दा दोब्बर हुने गर्दछ ।


रवीन्द्र श्रेष्ठ


विसं २०१८ सालमा दक्षिण कोरियाको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन केवल ९४ अमेरिकी डलर मात्र थियो । अहिले ३०००० डलर पुगेको छ । नेपालको ०१८ सालमा ५२ डलर थियो, अहिले १००३ डलर पुगेको छ । भारतको ०१८ सालमा ८४ डलर थियो, अहिले १९३९ डलर पुगेको छ । चीनको ०१८ सालमा ७६ डलर (भारतको भन्दा पनि कम) थियो, अहिले ८८२६ डलर पुगेको छ । अमेरिकाको ०१८ सालमा ३०६६ डलर थियो, अहिले ५९५३१ डलर पुगेको छ । जापानको ०१८ सालमा ५६३ डलर थियो, अहिले ३८४२८ डलर पुगेको छ । यस संक्षिप्त तथ्यांकले दक्षिण कोरियाको विकास मोडेलको आश्चर्यजनक परिणाम देखा पर्दछ । नेपाल र भारतको विकास मोडलले भने निराशाजनक परिणाम दिएको देखिन्छ ।
कोरियामा लामो समय नेपालमा जस्तै सामन्ती राजतन्त्र रह्यो । सन् १९१० देखि १९४५ सम्म कोरिया–जापानको उपनिवेश बन्यो । दोस्रो विश्वयुद्धको समाप्तिपछि कोरिया मुक्त भयो । तर केही समयपछि कोरियामा गृहयुद्ध शुरु भयो । यसमा चीन र सोभियत संघले कम्युनिष्ट पक्षको समर्थन ग¥यो भने अमेरिका जापानले गैरकम्युनिष्ट पक्षको समर्थन ग¥यो । पछि गएर कोरियामा प्रत्यक्ष रुपमै चीन र अमेरिकी सेनाबीच युद्ध भयो । सन् १९५३ मा एक सम्झौता भयो र कोरिया दुई देशमा विभाजित भयो–उत्तर कोरिया र दक्षिण कोरिया । यस्तो जर्जर ऐतिहासिक पृष्ठभूमिमा दक्षिण कोरियामा सन् १९६१ मा सेनाले सत्ता आफ्नो हातमा लियो । सेनाका जनरल पार्क चुन ही ले सत्ता हातमा लिए । उनी त्यसबेला केवल ४४ वर्षका थिए । सन् १९६३ मा राष्ट्रपतिको चुनाव भयो । झिनो बहुमतले उनै जनरल पार्क चुन हि विजयी बने । कोरियाको वास्तविक आर्थिक विकास अभियान सन् १९६१ देखि शुरु भयो भनिन्छ । उनले १९६७ र १९७१ का चुनावहरु पनि जिते । १९७२ मा संविधान संशोधन गरेर विपक्षीहरुमाथि दमन गरी एकलौटी तानाशाही शासन चलाए । सन् १९७९ मा उनका आफ्नै सहयोगी तथा गुप्तचर संस्था प्रमुखले हत्या नगरेसम्म उनैले शासन चलाए । सैनिक तानाशाह भए पनि उनले कोरियाको आर्थिक विकासका लागि ऐतिहासिक भूमिका निभाए । एक अति विपन्न देशलाई औद्योगिकरणको बाटोमा अघि बढाए । अहिलेको विकसित दक्षिण कोरियाको मजबुत जग खडा गरे । त्यसपछिका कोरियाली शासकहरुले त्यही जगमा कोरियालाई अघि बढाए ।
अर्धसामन्तवाद र उपनिवेशले जर्जर भएको अति गरीब देश कोरियालाई आधुनिक विकसित कोरिया बनाउन पार्कले नयाँ आर्थिक विकासको मोडेल प्रयोगमा ल्याए । सन् १९६२ देखि दक्षिण कोरियामा पञ्चवर्षीय योजना बनाएर आर्थिक क्रान्तिको शु्रुवात गरियो । निर्यातमुलक औद्योगिकरणलाई केन्द्रविन्दुमा राखिनु, आधारभूत उद्योगहरु र आयात प्रतिस्थापन उद्योगलाई विकास गर्नु, उद्योग विकासका लागि अति सस्तो ऋण सरकारले उद्योगीहरुलाई उपलब्ध गराउनु, वैदेशिक ऋण लिएर सरकार जमानी बसेर भए पनि निजी उद्योगीहरुलाई उद्योग खोल्न र विकास गर्न प्रोत्साहन दिनु, उद्योग खोल्न सरल नियम कानुन र उद्योगमैत्री प्रशासन बनाउनु, उद्योगीहरुलाई करहरुमा भारी छुट दिनु, वैज्ञानिक अनुसन्धान र विदेशी प्रविधि नक्कल गर्न सरकारले भारी लगानी गर्नु, पूर्वाधार विकासमा सरकारले लगानी केन्द्रित गर्नुजस्ता कुराहरु दक्षिण कोरियाली विकास मोडलका विशेषताहरु थिए ।
सन् १९६१ मा जर्मन सरकारसँग दक्षिण कोरियाले एक सम्झौता गरी एक वर्षमै आठ हजार खानी मजदूर तथा १० हजार नर्सहरु जर्मनी पठायो । यसरी युरोपमा जाने कोरियाली कामदारहरुको संख्या बढ्दै गयो र सन् १९७७ सम्म जारी रह्यो । यसरी गएका लाखौँ कामदारहरुको तलबबाट केही प्रतिशत सरकारले एक कोषमा जम्मा गरेर त्यसबाट आधुनिक औद्योगिक मेशिनहरु ल्याएर देशमा उद्योग स्थापना गर्ने अभियान चलायो । कोषमा जम्मा भएको पैसा ती कामदारहरुको सुरक्षित बचत पनि हुने, त्यसबाट ब्याज र मुनाफाको केही हिस्सा बोनस पनि पाउने र देशको औद्योगिकरणमा सहयोग पनि पुग्ने नीति सरकारले लियो ।
कोरिया विकास इन्स्टिच्युटका निर्देशक वनह्युक लिम ले कोरियाको त्यसवेलाको नीतिहरुलाई ‘एक्सपोर्टाइजेसन अफ अल इन्डष्ट्रिज’ र ‘साइन्टिफिकेशन अफ अल पिपल’ भनेका छन् । त्यो बेलाको विकास मोडलमा साना मझौला उद्योग व्यवसायका साथै ठूला औद्योगिक व्यावसायिक घरानाहरुको विकासमा पनि जोड दिइएको थियो । यसले गर्दा अहिले विश्वमा नाम चलेका सामसुङ, एल जी, किया, हुन्डाइ, डेउ, लोट्टे जस्ता औद्योगिक घरानाहरुको विकास भयो । आर्थिक वृद्धि दर १४ प्रतिशत सम्म पनि पु¥याउन दक्षिण कोरिया सफल भयो । अहिले दक्षिण कोरिया एक कंगाल देशवाट विकसित देश वनेकोछ ।


भारतको मोडल
भारत सन् १९४७ मा वेलायती उपनिवेशवाट स्वतन्त्र भयो । कोरिया जस्तो युद्धमा पिल्सीएको पनि थिएन भारत । तर भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र उनको पार्टी भारतीय कंग्रेसको पाखण्डि र ढोंगी समाजवादी नीतिका कारण भारतको विकास अवरुद्ध भयो । श्रोत साधन र सम्भावनाका हिसावले कोरिया भन्दा माथि रहेको भारत अहिले कोरिया भन्दा धेरै पछि परेको छ । नेहरुले १७ वर्ष र इन्दिरा गान्धीले १५ वर्ष भारतमा शासन चलाए । उनीहरुले भारतमा लोकतान्त्रिक समाजवादको मोडलवाट आर्थिक विकास गर्ने घोषणा गरे । भारतीय संविधानमा समाजवाद शब्द पनि राख्न लगाए । अमेरिका र सोभियत संघका विच लामो समय चलेको शित युद्धमा सोभियत पक्षमा भारतलाई राखे । तर असंलग्न देश भन्न पनि छोडेनन् । लोकतन्त्रवादी भनिएपनि उनीहरुले भारतमा विपक्षहरुमाथि दमन चलाउन कुनै कसर वाँकि राखेनन् ।
नेहरु र इन्दिरा गान्धीको नाम मात्रको समाजवादी विकास मोडलले भारतलाई कंगाल देश कै श्रेणिमा राख्ने काम ग¥यो । समाजवादको नाममा उनीहरुले देशलाई नोकरशाही तथा दलाल पूँजीवादको दलदलमा फँसाएर राखे । नोकरशाही पूँजीवाद यस अर्थमा कि उनीहरुले केही सरकारी उद्योगहरु त खोले, तर ती उद्योगहरु भ्रष्ट नोकरशाहहरुको ठगी खाने भाँडो मात्र सावित भयो । सरकारी उद्योगहरु तीब्र गतिमा प्रगतिशील तरिकाले विकास र विस्तार गर्ने नीति वनाउन पनि सकेनन् । किनभने सरकारमा रहेकाहरुको भ्रष्टाचार गर्ने अखडा मात्रै वन्न थाल्यो त्यस्ता सरकारी उद्योग । दलाल पूँजीवाद यस अर्थमा कि ती व्यवसायीहरुले विदेशी पूँजीवादी उद्योगका सामान ल्याएर भारतमा वेच्ने गर्दथ्यो र भारतको औद्योगिक विकासलाई अवरोध गर्दथ्यो । विदेशी तयारी वस्तुलाई भारतीय वजारमा खुल्ला प्रवेश दिंदा भारतीय नयाँ उद्योगहरु पनि धराशायी भए । नेहरु र गान्धीले भारतीय नीजि पूजीपतिहरुलाई पनि उद्योग खोल्न खासै प्रोत्साहन तथा सुविधा दिएनन् । न त सरकारी उद्योगको तीब्र विकास गर्ने नीति वन्यो, न त नीजि क्षेत्रलाई उद्योगको तीब्र विकास गर्न आवश्यक प्रोत्साहन र सुविधा दिइयो । न त समाजवादी मोडल, न त पूँजीवादी मोडल–नेहरु र इन्दिरा गान्धीको ढोंगी पाखण्डी समाजवादी मोडल यस्तो थियो ।
नेपालमा अहिले स्टालिन र माओले प्रयोग गरेको जस्तो समग्र समाजवादी मोडल अपनाउन यथास्थितिमा सम्भव छैन । किनभने यहाँ समग्र क्रान्ति भएको होइन । यहाँ राज्य संयन्त्र सबै पुरानो नै छ र नेपाली कांग्रेस र अन्य दलहरुको सशक्त उपस्थिति रहेको नै छ । यहाँ दक्षिण कोरियामा जस्तो हिम्मत साथ औद्योगिक पूँजीवादी विकासको मोडल अपनाउने हिम्मतवाला लोकतान्त्रिक नेता वा कम्युनिष्ट नेता वा अन्य खालका नेता कोही पनि देखापरेको छैन । चीनमा देङ स्याओ पिङले अपनाएको जस्तो मोडल अपनाउन पनि नेकपाले सक्दैन । बाँकी रह्यो नेहरु इन्दिरा गान्धीको मोडल । नेकपाले त्यही कथित समाजवादी मोडल अपनाइरहेको छ । त्यो भनेको नाम समाजवादको तर व्यवहारमा प्रतिक्रियावादी नोकरशाही तथा दलाल पूँजीवादको मोडल । यसले नेपालमा औद्योगिक क्रान्ति गर्न दिने छैन । यसले नेपाललाई विदेशी सामानको बजार बनाउने क्रम अझ तीव्र पारेको छ र सरकारमा रहेका मुठ्ठीभर नोकरशाहहरुको लुटको स्वर्ग बनाउने क्रम पनि तीव्र बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्