Logo
Logo

भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित : कतै डुबान, कतै बाढी र पहिरो (देशभरको अपडेट)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार । बिहीबार साँझदेखि लगातार आएको भारी वर्षाका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध हुँदा आवत–जावतमा समस्या भएको छ । तराईका अधिकांश क्षेत्रमा डुबानमा परेको छ । भारी वर्षाका कारण देशकै प्रशासनिक निकाय रहेको सिंहदरबारको पर्खाल समेत भत्किएको छ ।

पहिरोले घर बगाउँदा तीन बेपत्ता
खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्, उनले भने, ‘अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।’ घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ ।
घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन ।

बृद्धलाई खोलाले बगायो
निरन्तर वर्षापछि महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले शुक्रबार बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी राजमार्ग अवरुद्ध
यस्तै, सडकमा पहिरो खसेपछि गएरातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।
यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।
सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

जनकपुर जलमग्न
यस्तै, अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।
जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।
यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको रर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

खोलाले बगाएर बालक बेपत्ता
यस्तै खोला तर्ने क्रममा शुक्रबार बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए ।

नारायणी र राप्तीको बहाव बढ्दै
निरन्तरको वर्षाले खोला बढेपछि चितवनको माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित भएका छन् । खोलाहरु बढेपछि पानी खेतमा पस्न थालेको छ । जसले लगाइएको धानबाली प्रभावित बनाउने त्रास माडीवासीमा रहेको छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्