Logo
Logo

तिनाउमा चरम दोहन : आसपासका गाउँमा खानेपानी समस्या



रुपन्देही । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी दोहन बढ्दो छ । मापदण्ड विपरित दोहनका कारण नदी सुकेपछि जलचर लोप भएका छन् ।

आसपालका गाउँमा खानेपानीको समस्या विकराल बन्न थालेको छ । तिनाउ नदिमा मेसिनको प्रयोगले गहिरो गरी नदिजन्य पदार्थ उत्खनन भइरहेको छ । जसका कारण तिनाउ गहिरिएको छ । जलचर माछा चराचुरुङ्खी देखिन छाडेका छन् । तिलोत्तमा–१३ सेमरा घाटमा गहिरो गरेर नदिजन्य पदार्थ उत्खननका कारण दर्जनौं घरका चापाकलमा पानी आउन छाडेको स्थानीय बुधनी चौधरीले बताइन् ।

सम्बन्धित निकायले अनुगमन नगर्दा ठेकेदारले मनपरी रुपमा नदी दोहन गरिरहेको स्थानीय सागर पाण्डेले बताए । ‘खोला भासिएकाले खानेपानीको समस्या मात्रै भएको छैन, रोकथाम नगरे बर्षामा नदीको साइड कटान भई वस्ती वरिपरी ठूलो क्षती हुने जोखिम बढेको छ,’ उनले भने । आसपासका गाउमा पनि यस्तो समस्या उत्पन्न भएको छ । सेमरामा मात्र करिब दुई सय घरधुरीमा चापाकल छन् । पानीको स्रोत घटेपछि कृषि उत्पादन पनि प्रभावित भएको छ ।

तिनाउमा अनियमीत दोहनले जलचर मासिने अवस्थामा पुगेको १३ नंम्बर वडाका अध्यक्ष नारायण ढकाल बताउँछन् । तिलोत्तमा नगरपालिकाले तिनाउ नदिको डिंखगरनग, तिनाउ १० नंम्बर गोरकट्टा, हरपूर घाट लगायतका क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन् घाटगद्यी एवं बिक्रीका लागि बोलपत्र गर्दै आएको छ ।

तर सरोकारवालाले बेवास्था गर्दा ठेकेदारले तोकेभन्दा धेरै उत्खनन गर्ने गरेको स्थानीयको भनाई छ । ८/१० बर्ष अगाडीसम्म मानिसले नदिजन्य पदार्थ निकाल्ने चलन थियो । धेरै स्थानीयले रोजगार पाउथे ।

तर अहिले पालिकाले ठेक्का लगाउन सुरु भएपछि बढि मेसिनको प्रयोग हुन थाल्यो । नदी केही ब्यक्तिको मात्र कमाई खाने थलो बन्यो । तिनाउमा डनहरूको प्रयोग गरी जथाभावि उत्खनन भईरहेको मेयर रामकृष्ण खाँडले बताए ।

‘यसलाई रोक्न हामी लागिरहेका छौं,’ उनले भने, ‘प्रहरी, प्रशासन र संचारकर्मीले पनि साथ दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्