
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।
शनिबार काठमाडौं महानगरपालिका-१० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयोग गर्नुपर्ने बताएका हुन्।
नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए। इन्धनको मूल्य समायोजनप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनुभएन। सरकारले अलिकति पहल गर्नुपर्यो।’
सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उनले बताए। काठमाडौं उपत्यकाको फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले फोहोर जस्तो संवदशील विषयमा राजनीतिकरण गर्न नहुने धारणा राखे।
फोहोर व्यवस्थापनको काममा समुदायलाई पनि सहभागी गराउनुपर्ने उनको भनाइ छ। उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए।














