Logo
Logo

प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु


1.2k
Shares

काठमाडौँ । राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहे तर जीवनभर उनी माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी ।

‘आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन’, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधौं यसमा जोड दिँदै आए । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उनको ।

वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उनलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमाक्र्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा माक्र्सवादी अध्ययन समूहले त उनलाई सल्लाहकार नै राखेको थियो ।

यस आधारमा स्वर्गीय गिरी माक्र्सवादी अध्येताका रुपमा स्थापित थिए । उनको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरी काल माक्र्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल थिए । नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्कीको विचारमा खास अर्थमा गिरी माक्र्सवादी थिए ।

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक थिए उनी । जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र माक्र्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आएका थिए ।

उनले आफूहरुको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतङ्ककारी क्रियाकलाप होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गरेका नेता कार्कीको भनाइ छ । दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको टिप्पणी गर्दै नेता कार्कीले भने, ‘गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो ।’

दिवङ्गत नेता गिरीको सबैभन्दा अनुकरणीय विषय भनेकै उनी कोही कसैप्रति अन्धभक्त हुनु हुदैनथ्यो । उनले कैयौँ सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्टरुपमा बताएका थिए । गिरीले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई समाजवादी चिन्तनका रुपमा लिएका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यापर्णका क्रममा समेत अध्यक्ष दाहालले गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु¥याएको बताए । उनले भने, ‘बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।’

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोणका साथ सधैँ आफूलाई उभ्याउँदै आउनुभएका गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको अध्यक्ष दाहालको भनाइ छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका शब्दमा नेता गिरीले आफ्नै पार्टीका अतिरिक्त नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र)का विरुद्ध पनि चर्को आलोचना गर्थ्ये , असहमति राखे । ‘विभिन्न विषयमा आफ्ना असहमति राखे पनि आफ्नै दलका पक्षमा उहाँले मत राख्नुभएको छ । त्यसआधारमा उनी सिद्धान्तभन्दा बाहिर हुनुहुन्थ्यो भन्ने लाग्दैन’, सांसद सुवालले भने ।

गिरीले सोभियत सङ्घका तत्कालीन नेता लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेखेका छन् । यस्तै उनले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन’ नामक पुस्तकको सम्पादन गरेका छन् ।

विसं २०७६ पुसमा राजधानीमा ‘माक्र्स फर्किए…’ नामक नाटक मञ्चन भएको थियो । सो नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरीलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो । त्यसबेला उनले गरेका टिप्पणी थियो,’संसारमा जबसम्म असमानता छ, तबसम्म माक्र्स जिवित रहन्छन् । संसारमा जबसम्म बर्बता छ, तबसम्म माक्र्स जीवित रहन्छन् । आज माक्र्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका माक्र्स आज जीवित माक्र्सभन्दा सयगुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्