बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौँडाको हटियामा निर्माण गरिने बताएका छन् ।

हेटौँडामा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले हेटौँडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालय र संसद् भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको जानकारी दिए । ‘हटियामा ५५ बिघा क्षेत्रफल भएको सरकारी जमिन छ त्यही जग्गामा प्रदेश कार्यालय बनाउने तयारी थाल्दै छौँ’, उनले भने ।
मुख्यमन्त्री पाण्डेले एकै स्थानमा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालय र संसद् भवन पनि निर्माण गर्ने तयारीका साथ काम अगाडि बढेको बताए । प्रशस्त जमिन भएकाले उक्त स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि आवश्यक पर्ने कार्यालय तथा आवश्यकताअनुसार अन्य कार्यालय पनि निर्माण गर्न सहज हुने उनको भनाइ थियो । जग्गा प्राप्तिका लागि सङ्घीय सरकारसँग काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।











