Logo
Logo

पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षारोपण



ताप्लेजुङ । पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षारोपण गरिएको छ । असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई लक्षित गरी सफाइ र वृक्षारोपण थालिएको हो ।

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको समन्वयमा नेपाली सेनाको ताप्लेजुङस्थित भीम काली गुल्मले उक्त कार्य सुरु गरेको हो । काफ्ले पाटीदेखि पाथीभरा धामसम्म सरसफाइ गर्ने र ठाउँ ठाउँमा वृक्षारोपण गर्ने गरी अभियान सुरु गरिएको भीम काली गुल्मका गुल्मपति अदित श्रेष्ठले जानकारी दिए ।

सरसफाइ अभियानसँगै नेपाली सेनाको टोलीले करिब डेढ सातापछि हुने म्याराथन तथा महोत्सवमा सक्रिय सहभागिता साथै महोत्सव सफलताका लागि स्थानीय समुदायलाई सचेतीकरणसमेत गराइरहेको छ ।

पाथीभरा दर्शनमा आउने भक्तजन लगायतलाई महोत्सवबारे सेनाले जानकारी गराउँदै आएको बताइएको छ । आसपासको फोहोर संकलन गरेर काफ्लेपाटीमा झारिएको छ । त्यहाँबाट नगरपालिकासँग् समन्वय गरेर व्यवस्थापन गरिने समितिले जनाएको छ ।

यसैबिच पाथीभरा क्षेत्र विकास समिति र संरक्षण समिति, डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समूह र पाथीभरा क्षेत्रका बासिन्दासमेतको सहभागितामा वृक्षारोपण गरिएको छ । पाथीभरा क्षेत्रमा पर्ने मयाम पातल र सिम्बु सामुदायिक वनमा खाली रहेको जग्गामा वृक्षारोपण गरिएको जनाइएको छ ।

पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति र भीम काली गुल्मको संयुक्त आयोजनामा असोज ११ देखि १३ गतेसम्म सदरमुकाम फुङ्लिङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्