काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि शुक्रबारबाट इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो ।
सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सँगै ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन् ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने समेत उल्लेख गरिएको छ ।
नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । तर, पुराना प्रिपेड ग्राहकले भने आफ्नो पुरानो सिमलाई ई–सिममा रूपान्तरण गर्न सक्नेछन् ।












