काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात संयुक्त कारोबारको शुभारम्भ गरेको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले पुस ७ गते बिहीबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा कारोबार भएसँगै सो कम्पनीको रजिस्टर्ड कार्यालय बिराटनगरमा भएसँगै केन्द्रीय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ । कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई चयन भएका छन् । प्रकाशविक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवनकुमार खड्का नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
मर्जरपश्चात सूर्यज्योतिको कुल चुक्ता पुँजी रु. ४ अर्ब ५४ करोड र कुल लगानी रु. २८ अर्बभन्दा बढी पुग्नुका साथै दुई कम्पनीको आव २०७९÷८० को पहिलो त्रैमासिकसम्मको कुल जीवन बीमाकोष रु. २२ अर्ब, बीमाशुल्क रु. २ अर्ब २७ करोडभन्दा बढी तथा नाफा रु.४२ करोड पुगेको छ ।
बीमा क्षेत्रमा सूर्या लाइफले एक दशकभन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक बृहत् कम्पनीका रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाइफले पनि स्थापनाकालदेखि छोटो समयमा नै विस्वश्नीय सेवा दिँदै आफूलाई एक सबल कम्पनीको रुपमा चिनाइरहेको थियो । मर्जरपश्चात कम्पनीको कुल कर्मचारी संख्या करिब सात सय, कुल अभिकर्ता संख्या करिब ७५ हजारभन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा एक सय ८१ शाखाबाट १३ लाखभन्दा बढी बीमितलाई सेवा दिँदै सूर्यज्योति विशाल कम्पनी बनेका बताइएको छ ।
मर्जरका क्रममा देखिएका कठिनाइलाई आपसी सहमतिमा टुंग्याउँदै सूर्यज्योति दोस्रो ठूलो कम्पनी बनेको छ । हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने जानकारी दिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जरपश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत्, अझ सबल, अझ विशालरुपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराएका छन् ।












