काठमाडौं । शेरबहादुर देउवा सत्ताबाट हटेपनि राज्य संयन्त्रमा उनीनिकट गिरोहको सेटिङ भने कायमै छ । आरजु देउवा, भूषण राणा, रामचन्द भट्टलगायतको स्वार्थमा विभिन्न कार्यालयमा राखिएका कर्मचारी अहिले सत्ता गठबन्धनसँग लाइन मिलाउने प्रयासमा छन् ।

सोही गिरोहले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सेटिङ मिलाएर पैसा उठाएको आरोप छ । राजश्व अनुसन्धान विभागमा मदन दाहाल तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तारानाथ अधिकारीलाई लगिएको छ ।
राजश्व अनुसन्धानमा देउवा कार्यकालमा चार महानिर्देशक फेरिए । सुरुमा प्रकाश पौडेललाई लगिएको थियो । उनलाई नौ महिनामै हटाएर झलकराम अधिकारीलाई महानिर्देशक बनाइएकोमा उनलाई तीन महिनामै हटाएर दाहाललाई लगिएको थियो ।
चुनावको मुखमा पैसा उठाउनकै लागि महानिर्देशक फेरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अनुसन्धान भन्दा धेरै तामेली हुने गरेको छ । सोही कारण देश कालोसूचीमा पर्ने जोखिम बढेको छ । दुवै विभागको सेटिङ भत्किन सकेको छैन ।
गृहसचिव विनोदप्रकाश सिंह पनि आरजुकै रोजाईमा त्यहाँ पुगेका हुन् । गृहमा उनलाई हटाएर नयाँ सचिवको खोजी सुरु भएको छ । जस क्रममा नारायणप्रसाद दुवाडी ल्याउने सम्भावना देखिएको स्रोत बताउँछ ।
उता, सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय पठाउन लागिएको छ । उनको दुई महिनाअघि नै कानुनमा सरुवा भए पनि कानुनमा कार्यरत सचिव उदयराज सापकोटाले पछि रद्द गराएका थिए । ६ महिनापछि अवकाश पाउन लागेका सचिव ज्ञवालीले अन्ततः मन्त्रालय पाउने भएका छन् ।
अर्थ मन्त्रालयमा पनि सचिव सरुवाको दौडधुप सुरु भइसकेको छ । जनार्दन शर्माको रोजाईमा परेका कृष्णहरी पुष्कर हट्ने निश्चित भइसकेको छ । अर्थमा अर्जुन पोखरेलदेखि डा. बैकुण्ठ अर्यालसम्मको चर्चा छ ।
उता, महालेखा नियन्त्रणकको कार्यालयले गरेको लेखाका कर्मचारीहरूको सरुवा रद्द गराउन एक समूह सक्रिय भएको छ । सो सरुवामा आर्थिक चलखेल भएको थियो । जनार्दन शर्मामन्त्री पदबाट हट्नुअघि सरुवा गरेका थिए । नयाँ अर्थमन्त्री विष्णु पौडेलनिकट समूहले सरुवा रद्द गराउने प्रयास गरेको छ ।












