काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्ड मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।
मर्जरपश्चात् बैंकको कूल पुँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५.७७ अर्ब, कूल निक्षेप रु ४०० अर्बभन्दा बढी र कूल कर्जा रु ३७९ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने भएका छन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ ।












