काठमाडौं । चितवनको भरतपुर अस्पतालले मिलेमतोमा ३२ करोड रुपैयाँमा एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । अस्पतालले ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिद गर्न गत साता सूचना आह्वान गरेको छ ।

सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिदका लागि अस्पताल र व्यापारीबीच सेटिङ मिलिसकेको स्रोत बताउँछ । स्रोतका अनुसार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलगायत व्यवस्थापनलाई पाँच प्रतिशत कमिशन दिनेगरी सिमेन्स कम्पनीका प्रतिनिधिले डिल गरिसकेका छन् । सिमेन्सलाई मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर एमआरआई खरिद प्रक्रिया अघि बढाइएको छ । यसमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलको मिलेमतो रहेको स्रोत बताउँछ । तर, पौडेल भने प्राविधिक समिति गठनदेखि सबै प्रक्रिया पूरा गरेर नै एमआरआईको स्पेशिफिकेशन तयार गरी खरिद प्रक्रिया अगाडि बढाइएको दाबी गर्छन ।
एमआरआई खरिद प्रक्रिया अगाडि बढाउन लागत अनुमान स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अस्पतालले फाइल पठाएको थियो । मन्त्रालय स्रोतकाअनुसार करिब २५ दिनअघि एमआरआई खरिदको लागत अनुमान तथा स्पेशिफिकेशन स्वीकृति गरेर बोलपत्र प्रकाशनको स्वीकृतिका लागि मन्त्रालयमा भरतपुर अस्पतालको फाइल पुगेको पुग्यो । केही दिनअघि मात्रै मन्त्रालयले फाइल स्वीकृति गरेपछि अस्पतालले हतार–हतार एमआरआई खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको हो । राजनीतिक संक्रमणकालको फाइदा उठाइ मेसिन खरिद हुन लागेको छ ।
सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ । स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले खरिदका लागि लागत अनुमान स्वीकृति दिएपछि टेण्डर आह्वान भएको हो ।
के छ स्पेशिफिकेसनमा ?
भरतपुर अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिनको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर सिमेन्स कम्पनीसँग मिल्ने गरी बनाइएको छ । सानातिना प्राविधिक विषय संशोधन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. पौडेलले बताउँछन् ।
भरतपुर अस्पतालले खरिद गर्न लागेको थ्री टेस्ला एमआरआई मेसिनको प्राविधिक स्पेशिफिकेशनमा कम्तिमा ७० सेन्टिमिटर बोरसाइजको हुनुपर्ने मापदण्ड राखिएकाले नेपालमा सप्लाइ गर्दै आएका चलेको सिमेन्स, फिलिप्स, जिइ जस्ता कम्पनीहरूले टेण्डर हाल्नबाट बन्चित हुनुनपर्ने अस्पतालको दाबी छ ।
टेण्डर भएको थ्री टेस्ला एमआरआई मेसिन हाइ इण्डको हुनुपर्ने प्राविधिक स्पेशिफिकेशनमा उल्लेख छ । टेण्डर सूचनाका अनुसार खरिद गर्न लागिएको प्राविधिक स्पेशिफिकेशनमा कम्तिमा ७० सेन्टिमिटरको वाइड बोरसाइजको एमआरआई मेसिन हुनुपर्ने उल्लेख छ । प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ३ (बी) मा भनिएको छ, ‘म्याग्नेटिक जेन्ट्रि मस्ट बी वाइड बोर ओपनिङ एट लिष्ट ७० सेन्टिमिटर अक्रोश दी टनेल एण्ड सर्ट म्याग्नेट लेन्थ लेसदेन १८० सेन्टिमिटर ।’
बोलपत्रको सूचनाअनुसार टेण्डर भएको एमआरआई मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८१ लाख बोलपत्र जमानत रकम राख्नुपर्नेछ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ मा बोलपत्र जमानतसम्बन्धी व्यवस्था रहेको छ । सो नियमको उपनियम ‘१’ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदको प्रकृति अनुसार सबै बोलपत्रदातालाई समान रूपले लागू हुनेगरी स्वीकृत लागत अनुमान रकमको दुईदेखि तीन प्रतिशत रकमको सीमाभित्र रही निश्चित रकम तोकी बोलपत्र आह्वानको सूचनामा बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्ने बोलपत्र जमानत रकम उल्लेख गर्नुपर्नेछ ।’
नियमअनुसार औषतमा दुई दशमलव पाँच (२.५) प्रतिशत बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट)लाई आधार मान्दा करिब ३२ करोड ४० लाख मूल्य पर्ने एमआरआई खरिदका लागि टेण्डर आह्वान भएको देखिन्छ ।
अस्पतालले भने एमआरआई खरिदको लागि ३२ करोडभन्दा कमको सिलिङ तोकेको स्रोत बताउँछ । त्यही बजेटको सीमाभित्र रहेर एमआरआई खरिद गरिने एक कर्मचारी बताउँछन् ।











