Logo
Logo

सम्झनामा सहाना प्रधान


- दृष्टि न्युज/संवाददाता


सहाना प्रधान । नेपालको लोकतान्त्रिक एवं वामपन्थी तथा महिला आन्दोलनकी एक अग्रणी नेतृ । सात दशक लामो राजनीतिक जीवन, त्यस क्रममा उनले खेलेका संघर्षशील भूमिका र योगदानले नेपाली समाजमा उनलाई चिरकालसम्म स्मरणीय बनाएको छ । त्यसैले आइतबार सिंगो देशले उनलाई स्मरण गरेको छ । उनको पाँचौ स्मृति दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् र उनको योगदानको चर्चा भएको छ । उनको नाम किन पनि अविस्मरणीय छ भने उनी त्यो कालखण्डमा लोकतन्त्रका लागि मैदानमा ओर्लिएकी थिइन्, जुनबेला मुलुकमा निरंकुशतन्त्रको दबदबा थियो । एक सय चार वर्षदेखि मुलुकमा जहानियाँ राणा शासन हुकुमीतन्त्रको बोलवाला थियो । छिटफुट र गुप्त रूपमा स्वतन्त्रताको आन्दोलन चल्दै गर्दा प्रधान पनि त्यस्तो मोर्चामा सम्मिलित भइन् । निरंकुश र बन्द समाज, त्यसमाथि पितृसत्तात्मक समाज, जहाँ प्रजातन्त्र र स्वतन्त्रताका कुरा गर्ने, त्यस्तो मुद्दा बोक्ने पुरुषहरू नै सीमित संख्यामा थिए, त्यो परिवेशमा चलेको प्रजातन्त्रको आन्दोलनको मोर्चामा महिला उपस्थिति साँच्चिकै साहस र जोखिमपूर्ण कदम थियो । त्यस्तो जोखिम र संघर्षशील कदम उठाउने प्रधान हाम्रोबीचमा नरहेको पाँच वर्ष भएको छ । तर, उनको साहस र संघर्षको गाथा नेपाली समाजका लागि गौरव र प्रेरणाको विषय बनिरहेका छ, युगयुगसम्म रहने छ ।

सहानामा राजनीतिक चेत त्यतिखेर जागृत भएको थियो, जुनबेला मुलुकमा जहानियाँ राणाशासनविरुद्ध जनमत बन्दै थियो । पहिलो पटक उनी वि.सं. २००४ साल वैशाखमा राजधानीमा भएको राणाशाही विरुद्धको आन्दोलनमा उत्रिएकी थिइन् । त्यो बेला आन्दोलनको तयारीका क्रममा पर्चा छर्ने, जुलुसमा सहभागी हुने केही अगुवा महिला मध्येमा उनी पर्थिन् । छोरीलाई पढ्न नदिने, छोरीले पुस्तक छोयो कि ‘कलियुगका कलि’ भनेर होच्याइने तत्कालीन अनुदार राज्यव्यवस्था र समाज देखेर उनी असन्तुष्ट थिइन्, आक्रोशित थिइन् । सँगैको भाइ स्कुल पढ्न जान पाउने, तर आफूले पढ्न नपाउने जुन परिपाटी विद्यमान थियो, त्यो विभेदपूर्ण अवस्थाले उनलाई विद्रोहको बाटो रोज्न प्रेरित गरिरहेको थियो ।

नेपालमा लोकतन्त्रका लागि पटकपटक आन्दोलन भयो र ती आन्दोलनहरूमा महिलाहरूको सहभागिता पनि उत्तिकै रह्यो । प्रधान त्यस्ती महिला नेतृ हुन्, जसले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६३ को गणतान्त्रिक आन्दोलनका अग्रमोर्चामा सधैँ आफूलाई उभ्याइन् । अझ प्रधानको नाम २०४६ सालको प्रजातान्त्रिक आन्दोलनसँग अझ गाढा गरी जोडिएर आउँछ । किनभने, त्यो बेला उनले ऐतिहासिक जनआन्दोलनमा सहभागी सम्पूर्ण वामपन्थी राजनीतिक दलहरूको संयुक्त मोर्चाको नेतृत्व लिएकी थिइन् । राणाकालीन समयमा सुरुका दिनमा महिलाले पनि पढ्न पाउनुपर्छ भन्ने तत्कालीन समयको ‘क्रान्तिकारी’ नारा लिएर संघर्षमा होमिएकी सहाना पछि गएर राजनीतिक स्वतन्त्रताको आन्दोलनमै सरिक भइन् । कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसँग विवाह गरेर घरगृहस्थी गरेपछि उनको राजनीतिक सक्रियता केही घट्यो । यद्यपि उनी प्राध्यापन पेसामा रहेर राजनीतिलाई पनि आफ्नै ढंगले अघि बढाउँदै थिइन् । जब पञ्चायती व्यवस्थाको दमनचक्र बढ्दै गयो । उनी पुनः राजनीतिकै मोर्चामा अग्रपंक्तिमा उभिन आइपुगिन् र फेरि राजनीतिक संघर्षमा सरिक भइन् । २०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले वार्ता गर्न डाकेका आन्दोलनकारी शक्ति कांग्रेस र कम्युनिस्टका नेताहरूमध्ये उनी पनि एक थिइन् ।

उनको सम्पूर्ण राजनीतिक जीवन समग्रतामा त्याग, बलिदान, संघर्ष र सासहको कथा हो । सबैभन्दा महत्वपूर्ण कुरा, कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालकी धर्मपत्नी भएर पनि उनले नेपाली राजनीतिमा बेग्लै र आफ्नै विशिष्ट पहिचान बनाइन् । नेपाली प्रजातान्त्रिक र महिला मुक्तिका आन्दोलनमा उनले आफूलाई सबैभन्दा अग्लो स्थानमा उभ्याएकी थिइन् । उनी नेपाली महिला मुक्तिका लागि अनवरत क्रियाशील भइन् । र, लोकतन्त्र र सामाजिक प्रगतिशीलताका लागि कहींकतै सम्झौता गरिनन् ।

यतिबेला हाम्रोबीचमा उनको भौतिक शरीर छैन । तर, जस्तो सुकै निरंकुश शासनका विरुद्ध पनि जनताको आवाज बलियो हुन्छ भन्ने ज्वलन्त उदाहरण भनेर उनी सदासदाका लागि इतिहासका स्वर्ण अक्षरमा कुँदिएकी छिन् । नेपालको महिला आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याउन उनले खेलेको भूमिका, निरंकुश र अनुदार समाजविरुद्ध लड्दै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गर्दासम्म रहेको उनको सक्रियता, उनले खेपेका दुःख, संघर्ष अब सम्पूर्ण नेपाली समाजका ऐतिहासिक धरोहरका रूपमा रहेका छन् । यिनै शब्दहरूसहित अग्रणी नेतृ सहाना प्रधानलाई पाँचौँ पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्