Logo
Logo

भ्रष्टाचार काण्डमा परेका ठूलो पदका व्यक्तिको सर्वस्वहरण गरियोस् : ज्ञानेन्द्र


1.6k
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूला-ठूलो पदका व्यक्तिलाई सर्वस्वहरणसहित जस्ता जेल चलान गर्न माग गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरूलाई पनि भ्रष्टाचारको काण्डमा सर्वस्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको बताए । 

‘आज भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन । अख्तियार दूरुपयोग निवारण आयोगलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बनायौं । तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो’, उनले भने, ‘त्यसैले होला ठूला-ठूलो भ्रष्टाचार काण्डका आवाज सडक तातिन्छ । सदनमा सुनिन्छ । तर भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न, सुन्न पाइदैन ।’

शाहीले भने, ‘हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाइन मिडियाहरूमा हाम्रा र तपाईँहरूको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन । र, छापिन्छन् पनि । तर, सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ, सभामुख महोदय ।’

उनले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए । भ्रष्टाचारले गर्दा युवाहरूको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्