
काठमाडौं । दुई साताअगाडि अपहरणमा परेका जनकपुरधामका दुई युवकको भारतमा हत्या गरिएको छ ।
१३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका– ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा भेटिएको हो ।
रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारको घर गएका थिए । तर त्यहीँ दुवै जना अपहरणमा परेपछि सम्पर्कविहीन भएका थिए । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला परेपछि आइतबार बिहान मृतक युवकका आफन्तलाई सनाखतका लागि खबर गरेको थियो ।
दुवै शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अपहरण भएको थियो । सुरुमा ५० लाख मागेका अपहरणकारीले पछि २० लाख फिरौतीको रकम मागेका थिए ।














