Logo
Logo

नेकपा काभ्रेमा जिल्ला कमिटी मात्रै !


- दृष्टि न्युज/संवाददाता


काभ्रेपलाञ्चोक, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो ।
यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटालाई चयन गरेको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता रुकू चौलागाईँ र सचिवमा तत्कालीन एमालेका अध्यक्ष टोकबहादुर तामाङ तोकिएका हुन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत २०७४ जेठ अन्तिम साता पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महिनापछि मात्रै घोषणा गरिएको छ । तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिस गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ ।
नेकपा केन्द्रीय कमिटीले अन्तिममा अर्थात् ७७औँ जिल्लाका रूपमा यही असोज ९ गते नेकपा जिल्ला कमिटीका पदाधिकारी निर्णय गरेको हो । घोषित नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी हाल १२८ सदस्यीय छ । पूर्व एमालेका ६५ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२८ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो ।
१५ जना पूर्वएमाले र दुई पूर्व माओवादी केन्द्रका सदस्य मनोनित गर्ने सहमतिसहित जिल्ला कमिटी घोषणा भएको जिल्ला सचिव तामाङले बताए । उनले भने, ‘ढिलोगरी हाम्रो जिल्ला कमिटी घोषणा गरियो, यसकारण स्थानीयस्तरमा कमिटी निर्माण गर्न सकिएको छैन ।’ तर, स्थानीयस्तरमा छिटो कमिटी घोषणा हुँदा जिम्मेवारीवोध हुने र पार्टी चलायमान भइदिँदा जिल्ला नेतृत्वले ‘गाइडलाइन’ दिइने तथा प्रचारप्रसार गर्न सजिलो हुने उनको तर्क छ ।
नेकपाको स्थानीयस्तरमा कमिटी छिटो घोषणा गर्न प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई पटकपटक दबाब दिएको सचिव तामाङले बताए । ‘पार्टी विधि–पद्धतिमा सञ्चालन गर्न तथा सङ्गठित सदस्य नवीकरण र नयाँ सङ्गठित सदस्य बनाउन ढिला भइसक्यो’, सचिव तामाङले भने ।
त्यसो त, नवघोषित जिल्ला कमिटीका पदाधिकारीलाई आउँदो कात्तिक २ गते शपथग्रहण गराइने कार्यक्रम रहेको नेकपा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले बताए । उनले भने, ‘केही प्राविधिक कारणले नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणामा ढिलाइ भएको हो, घोषणा भइसकेको छ, अब आउने कात्तिक २ गते शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।’ काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकाको १६५ वडा रहेका छन् ।
दुई पार्टी एकीकरणपछि नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा (तीनवटै सरकार)मा स्पष्ट बहुमत प्राप्त नेकपा नेतृत्वको सरकारले जनआकाँक्षा सम्बोधन गर्ने र आउँदो निर्वाचनमा तीन चौथाइ बहुमत ल्याउने बताएको थियो । उनीहरूले भन्दै आएका छन्, ‘एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण बन्यो ।’ रासस

प्रतिक्रिया दिनुहोस्