Logo
Logo

कम्युनिष्ट पार्टीमा सच्चा कम्युनिष्टको खडेरी



मुहान नै धमिलो भएपछि सङ्लो पानी बग्ने कुरै भएन । राजनीतिको मुहान जनतालाई मान्ने हो भने माओले जनतालाई इतिहासका निर्माता भनेका छन् ।

यस हिसाबले पनि जनता राजनीतिका मुहान हुन् । तसर्थ जस्ता जनता उस्तै नेता उत्पादन हुन्छन् भन्दा अन्यथा हुँदैन । जनताअनुसारका कार्यकर्ता, कार्यकर्ताअनुसारका नेता, नेताअनुसारको नेतृत्व र नेतृत्वअनुसारको देश बन्छ ।

कम्युनिष्टहरू आफूलाई दुनियाँकै सबैभन्दा असल विचार र सिद्धान्त भएका ठान्छन् । भनिन्छ, कम्युनिष्टहरू विचारमा स्पष्ट, सिद्धान्तमा निष्ठ र सामूहिक हितप्रति प्रतिबद्ध हुन्छन् । वर्गीय चिन्तन र चरित्र बोेकेर मानव मुक्ति र रूपान्तरणकारी क्रान्तिलाई जीवन्त बनाउने उनीहरूको ध्येय हुन्छ ।

२०७९ माघमा प्रकाशित भएको नेकपा (एकीकृत समाजवादी)को मुखपत्र ‘समाजवाद’ मा उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिष्ट पार्टीको क्रान्तिकारी पुनःगठन’ शीर्षकको लेखमा केही महत्वपूर्ण सन्दर्भहरू उल्लेख गरेका छन् ।

‘कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्नका लागि जनताप्रतिको समर्पण, सिद्धान्तप्रतिको निष्ठा, इमान्दारिता र आदर्शवान् हुन आवश्यक छ’ भनेर उल्लेख गरेका छन् । खासगरी कम्युनिष्ट बन्नका लागि मुख्यगरी तीनवटा शर्तको अक्षरस पालना हुनुपर्ने अध्यक्ष नेपालको बुझाइ छ । उनका अनुसार पहिलो माक्र्सवादी सिद्धान्त, दोस्रो वर्गीय चेतना र तेस्रो देशभक्ति भावना हुनुपर्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मुहानलाई फर्केर हेर्ने हो भने अनेकन दृश्यहरू देख्न पाइन्छ । नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो ।

पुष्पलालको नेतृत्वमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेवारहरूलाई मात्र समेटेर पार्टी खोलेको भन्दै पुष्पलालको आलोचनासमेत भएको थियो ।

२००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउँदा उनले संघर्षको बाटो रोजेका थिए । पुष्पलालको गणतन्त्र र मनमोहनको संवैधानिक राजतन्त्रको लाइनले पहिलोपटक कम्युनिष्ट पार्टीमा फुटको बीउ रोपिएको थियो ।

भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययनमा जुटेका थिए । उनले २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशन गरेका थिए । यो नेपालीमा प्रकाशित पहिलो माक्र्सवादी रचना मानिन्छ ।

भनिन्छ, सोही समयमा केशरजंग रायमाझी अध्ययनरत कलकत्ताकै क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘माक्र्सिस्ट स्टडी सर्कल’ गठन गरेका थिए । रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा त्यस सर्कलमा गोलबद्ध भएका थिए । तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी थिए ।

रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीसँग निकट मानिन्थे । ‘माक्र्सिस्ट स्टडी सर्कल’मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्कीजस्ता युवा संलग्न भए । सर्कलको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो ।

त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले सर्कलका साथीहरुलाई थाहै नदिइ गुप्त ढंगले अरु चार जनालाई सम्मिलित गराई ‘नेकपा’ स्थापना गरेको डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’मा उल्लेख गरेका छन् ।

यता, पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा भने आफूले नेकपा स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णयअनुसार ‘माक्र्सवादी अध्ययन मण्डल’ गठन गरेको उल्लेख गरेका छन् । अध्ययन मण्डलमा हिक्मतसिंह भण्डारी, प्रयागलाल श्रेष्ठ, शमशेर चाँद र केशरजंग रायमाझी सदस्य भएको पनि उनले लेखेका छन् ।

३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो । त्यस दिन घोषित केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह (भारतीय) थिए । नेकपाका महासचिव भने पुष्पलाल नै थिए ।

यसरी हेर्दा नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै टुट, फुट, संघर्ष, आलोचना र विवादका बीच भएको देखिन्छ ।

यिनै सन्दर्भहरूमाथि चर्चा हुँदा मेरा एक जना मित्र नेपाली कम्युनिष्टहरूको जन्मदाता नै नेपाली कांग्रेस भएकाले सच्चा कम्युनिष्ट नेपालमा नभेटिने दाबी गर्छन् ।

उनी भन्छन्, ‘नेपालमा असली कम्युनिष्ट खोज्नु नै मुर्खता हो ।’ मैले उनलाई भन्ने गरेको छु, ‘इतिहासलाई आधुनिक चस्माले हेर्न कहाँ पाइन्छ ?’ मित्रको आलोचनालाई तर्कले जित्नबाहेक मसँग सवाल जवाफ गर्ने धेरै नैतिकता थिएन ।

यद्यपि, नेपाली कम्युनिष्ट आन्दोलनले अनेकन आरोह–अवरोह झेल्नुपरेको छ । कम्युनिष्टहरुको हरेक आन्दोलनले व्यवस्था परिवर्तनका निम्ति योगदान दिएको छ । आफ्नै पार्टीभित्र जन्मिएको पश्चगागी र प्रतिगामी पात्रहरूको कदमका विरुद्ध लड्नुपरेको छ ।

यतिहुँदा हुँदै पनि विगत त सबैको हुन्छ । इमान्दारपूर्वक भन्नुपर्छ नेपाली कम्युनिष्टहरूको विगत जति गौरवशाली छ, त्योभन्दा धेरै गुणा अहिलेको कम्युनिष्ट पार्टी बदनाम छ । कम्युनिष्ट आन्दोलनमा समाहित केही नेताहरूको वर्तमान अत्यन्तै धुमिल छ ।

दुनियाँ बदल्ने नारा दिएर आफू बदलिएका तमाम उदाहरण छन् । विचारलाई पोलेर खाने काम भइरहेको छ । एकअर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने रोग व्याप्त छ । आफू र आफ्नाहरूको स्वार्थका निम्ति जेसुकै गर्न सक्ने भोक छ ।

नेपालमा कम्युनिष्ट पार्टीका नाममा अनावश्यक पसलहरू खोलिएका छन् । एउटा लोक भनाइ छ, ‘जस्ता गुरु, उस्तै चेला ।’ परिर्वतन नदी होइन, जो एकोहोरो ओरालो बगोस् । परिर्वतन साइकल हो । जुन जनतादेखि नेतासम्म र नेतादेखि जनतासम्म परिवर्तन सम्भव होस् ।

आज हरेक कम्युनिष्ट पार्टीलाई नियालेर हेर्ने हो भने असली कम्युनिष्टहरुको ठूलै खडेरी देखिन्छ । उदाहरणका रूपमा एमाले पार्टीलाई लिन सकिन्छ । क. घनश्याम भुसालका अनुसार एमालेमा सच्चा कार्यकर्ता छैनन् । त्यो पार्टीमा साइबर स्यालहरू छन् । हुन पनि एमालेभित्र एउटा तप्का छ, जसको काम नै अरुलाई गाली गर्ने, तथानाम लेख्ने, अर्काको चरित्र हत्या गर्ने हो ।

कम्युनिष्ट आन्दोलनलाई पुनःगठनको नारा दिएर डेढ वर्ष अघि एमालेबाट विद्रोह गरेर स्थापना भएको एकीकृत समाजवादी पार्टीप्रति इमान्दार कार्यकर्ताहरुको आशा र भरोसा छ । तर, सिंगो नेतृत्वले कम्युनिष्ट आन्दोलनका इमान्दा कार्यकर्ताहरुलाई समेट्न सकेको छैन । सबैलाई पद चाहिएको छ, जिम्मेवारी होइन । यो कुरा प्रतिनिधिसभामा समानुपातिक मतबाट पनि छर्लङ्ग हुन्छ ।

अन्त्यमा, नेपाली कम्युनिष्ट आन्दोलनको मुहान् केही प्रश्न गर्न लायक भए पनि सात दशकको यात्रालाई समीक्षा गरेर अघि बढ्न सकियो भने राम्रै हुने देखिन्छ ।

म भन्नु छोेडेर हामी भन्नुपर्छ । नातावाद, कृपावाद, गुटवाद र फुटवादको गोलचक्करबाट बाहिर राखेर आन्दोलनलाई समाजवादको दिशातर्फ अग्रसर गराउनु आजको आवश्यकता र चुनौती हो । यति मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनु भनेको लोकतन्त्रको जग कमजोर हुनु हो ।

प्रतिक्रिया दिनुहोस्