काठमाडौं । ‘नमस्ते पे’का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेलले कार्यभार सम्हालेका छन् । बैशाख १५ गते नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा सीईओ नियुक्त भएका पोखरेलले आइतबार कार्यभार सम्हालेका हुन् ।

‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति पाउँदा खुसी छ’ नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्वसीईओ कृष्णप्रसाद भण्डारीले भने ।
नवनियुक्त सीईओ पोखरेलले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंक विहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु ।’
अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र FinTech कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट कार्यसम्पादन गरेको पोखरेलको रेकर्ड छ । यसअघि पोखरेलले एफआई सफ्ट इन्टरनेशनल र MNepal Ltd. का प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।
उनीसँग बैंकिङ क्षेत्रमा लामो अनुभव छ र उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौँ र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदमा काम गरेका छन् । साथै, उनले युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गरेका छन् ।












