काठमाडौं । नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते श्रम सम्झौता भयो । सम्झौताअनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलगायतको खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने थियो । श्रमिकले सुरुमा रकम तिरे पनि मलेसिया पुगेपछि पहिलो महिनाको तलबसँगै फिर्ता पाउनुपर्ने व्यवस्था थियो ।
तर, कागजमा भएको व्यवस्था व्यवहारमा लागू भएन । मलेसिया जाने श्रमिकले स्वास्थ्य परीक्षणका नाममा थप एक सय मलेसियन रिंगेट अर्थात् करिब ३ हजार १६४ रुपैयाँ बुझाउनुप¥यो । यो रकमलाई ‘बायोमेडिकल सर्भिस चार्ज’ भनियो । त्यति मात्रै होइन, श्रमिकले आफूखुसी स्वास्थ्य परीक्षण गराउन पनि पाउँदैनथे । काठमाडौंका ३६ वटा तोकिएका स्वास्थ्य संस्थाबाट मात्रै परीक्षण गर्नुपर्ने व्यवस्था थियो । यसरी श्रमिकबाट रकम उठाउने काम म्याक्रोटेक नामको कम्पनीमार्फत भएको अनुसन्धानमा खुलेको छ । मलेसियाली कम्पनी बेस्टिनेटको नेपालस्थित साझेदारका रूपमा म्याक्रोटेकले काम गरिरहेको थियो ।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म ७ लाख ५० हजार ९ सय ८८ जना श्रमिकबाट २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ उठाइएको थियो । त्यसमध्ये १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी रकम मलेसियास्थित बेस्टिनेटको खातामा पुगेको देखिएको छ । अनुसन्धानअनुसार यो रकम १७ पटक टेलिग्राफिक ट्रान्सफरमार्फत मलेसिया पठाइएको थियो । अर्थात्, सात लाखभन्दा बढी नेपाली श्रमिकको खल्तीबाट उठेको अर्बौं रकमको ठूलो हिस्सा विदेश पुग्यो । तर, प्रश्न उही छ– यो रकम उठाउने कानुनी आधार के थियो ? रोजगारदाताले बेहोर्नुपर्ने खर्च श्रमिकबाटै किन असुलियो ? अनि श्रमिकलाई फिर्ता हुनुपर्ने रकम उल्टै विदेश कसरी पुग्यो ?
यो रकम विदेश पठाउन कुनै एउटा कम्पनीले मात्रै निर्णय गरेर सम्भव थिएन । त्यसका लागि मलेसियाली दूतावासको पत्र, श्रम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा सटहीसम्बन्धी स्वीकृति आवश्यक पथ्र्यो । प्रक्रिया पनि स्पष्ट थियो । सुरुमा म्याक्रोटेकले रकम पठाउन निवेदन दिन्थ्यो । त्यसपछि मलेसियाली दूतावासले परीक्षण गरिएका श्रमिकको विवरणसहित पत्र पठाउँथ्यो । श्रम मन्त्रालयले रकम विदेश पठाउन सिफारिस गथ्र्यो । अन्तिममा राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको अनुमति दिएपछि बैंकमार्फत रकम मलेसिया पुग्थ्यो । यही प्रक्रियाबाट १७ पटक रकम विदेश पठाइएको अनुसन्धानमा खुलेको छ ।
सीआईबीका अनुसार तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा चार पटक मन्त्रीस्तरीय निर्णय गरेर रकम विदेश पठाउने बाटो खोलिएको थियो । यी दुवै पूर्वश्रममन्त्री अहिले प्रहरी हिरासतमा छन् । उनीहरूसँगै तत्कालीन श्रमसचिव विनोद केसी, मन्त्रालयका उच्च अधिकारी र मेडिकल व्यवसायीसमेत अनुसन्धानको दायरामा तानिएका छन् । यतिमै अनुसन्धान रोकिएको छैन । पूर्वमुख्यसचिव एकनारायण अर्यालसमेत पक्राउ परेका छन् । श्रमसचिव रहेका बेला रकम विदेश पठाउने प्रक्रियामा भूमिका खेलेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
यसरी एउटा मेडिकल शुल्कबाट सुरु भएको प्रकरण अहिले श्रम मन्त्रालय, राष्ट्र बैंक, मलेसियाली दूतावास र निजी कम्पनीसम्म फैलिएको छ । तर, यही प्रकरणमा पछिल्लो समय वर्तमान सभामुख डीपी अर्यालको नामसमेत जोडिएको छ । डीपी अर्याल पहिलो पटक २०७९ माघ ३ गते श्रममन्त्री बनेका थिए । उनी मन्त्री बनेको दुई दिनपछि अर्थात् माघ ५ गते नै ९ लाख २५७ अमेरिकी डलर मलेसिया पठाइएको थियो । तर, त्यसका लागि नयाँ मन्त्रीस्तरीय निर्णय भएको देखिँदैन । तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा भएको निर्णयलाई आधार बनाएर रकम पठाउन पत्राचार गरिएको थियो ।
त्यसपछि अर्याल दोस्रो पटक २०८० फागुन २३ देखि २०८१ असार ३१ गतेसम्म श्रममन्त्री बने । यही अवधिमा पनि २०८१ वैशाख २४ र जेठ ९ गते गरी दुई पटक रकम मलेसिया पठाइएको देखिन्छ । उनको दोस्रो कार्यकालमा दुई किस्तामा २१ लाख ३१ हजार ७४० मलेसियन रिंगेट विदेश पठाउन विदेशी मुद्रा सटही सुविधा माग गरिएको विवरणसमेत भेटिएको छ । यसरी डीपी अर्याल श्रममन्त्री रहेका दुवै कार्यकाल जोड्दा तीन पटक रकम मलेसिया गएको देखिन्छ । सीआईबीका अनुसार रकम विदेश पठाउने चारवटा मन्त्रीस्तरीय निर्णय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका थिए ।
अर्यालको कार्यकालमा रकम गएको भए पनि उनले नयाँ मन्त्रीस्तरीय निर्णय गरेको प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन । तर, पनि अर्यालमाथि प्रश्न उठिरहेको छ– अघिल्ला मन्त्रीको निर्णयका आधारमा रकम पठाउने प्रक्रिया अर्यालको कार्यकालमा पनि कसरी निरन्तर चलिरह्यो ? त्यसमा मन्त्रालयका अधिकारीहरूको भूमिका के थियो ? मन्त्रीलाई यसबारे जानकारी थियो कि थिएन ? यही विषयलाई लिएर विपक्षी नेताहरूले पनि प्रश्न उठाइरहेका छन् । नेकपाका नेता वर्षमान पुनले सभामुख अर्यालमाथि छानबिन नभएको भन्दै सरकारको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएका छन् ।
तर, डीपी अर्यालको वैदेशिक रोजगार क्षेत्रसँगको सम्बन्ध मन्त्री बनेपछि मात्रै सुरु भएको होइन । राजनीतिमा आउनुअघि नै उनी म्यानपावर व्यवसायसँग जोडिएका थिए । उनी, सृष्टि ओभरसिज इम्प्लोइमेन्टमा अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा कार्यरत थिए । उक्त कम्पनीविरुद्ध २०७१ कात्तिक ३० गते मलेसिया पठाइदिने भन्दै सात जना श्रमिकलाई ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । पीडितहरूले क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका थिए । अर्यालको उक्त कम्पनीमा प्रत्यक्ष लगानी नभए पनि एजेन्टका रूपमा कार्यरत थिए । तर, डीपी अर्यालको नाम जोडिएको वैदेशिक रोजगारी र विदेश पठाउने व्यवसायको विवाद यतिमै सीमित छैन । उनको अर्को व्यावसायिक कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्स पनि भिजिट भिसा प्रकरणमा विवादमा तानिएको थियो ।
२०८२ असारमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभामै सुमिरे टुर्स एन्ड ट्राभल्सको विषय उठाएका थिए । उक्त कम्पनीले विगत १० वर्षदेखि जापानको भिजिट भिसामा नेपालीलाई पठाउने नाममा हजारौँ व्यक्तिबाट अर्बौं रुपैयाँ असुलेको आरोप लगाउँदै उनले निष्पक्ष छानबिनको माग गरेका थिए ।
त्यसपछि यो विषयले संसद्बाहिर पनि चर्चा पायो । विवाद चर्किएपछि अर्याल आफैँले संसद्मा सुमिरे टुर्स एन्ड ट्राभल्स आफ्नो कम्पनी भएको स्वीकार गरे । तर, ठगीको आरोप अस्वीकार गरे। कम्पनीले कसैसँग पैसा लिएर भिजिट भिसामा विदेश पठाउन नसकेको प्रमाण दिए आफू जिम्मेवारी लिन तयार रहेको उनको दाबी थियो ।
अर्यालको वैदेशिक रोजगारीको क्षेत्रसँग अर्यालको सम्बन्ध पुरानै हो । पहिले म्यानपावर व्यवसायसँग जोडिएका उनी पछि श्रममन्त्री बने । अहिले सभामुख छन् । तर, उनकै श्रममन्त्री कार्यकालमा श्रमिकबाट उठाइएको बायोमेडिकल शुल्क मलेसिया पठाइएको बाहिरिएको छ ।
यता, यो प्रकरणको अनुसन्धानमा सरकारी कागजात नै अर्को समस्या बनेको छ । सीआईबीले अनुसन्धानका लागि श्रम मन्त्रालयसँग रकम विदेश पठाउने निर्णयसम्बन्धी सक्कल फाइल र अन्य कागजात मागेको थियो । तर, पटक–पटक माग्दा पनि फाइल भेटिएन । पछि श्रममन्त्री रामजी यादवले फाइल खोज्न कार्यदल गठन गरे । कार्यदलले खोजी गरेपछि मंसिर ९ गते फाइल फेला पा¥यो । त्यसपछि मन्त्रालयले ती कागजात सीआईबीलाई बुझाएको छ ।
अझ, यति ठूलो प्रकरणको अनुसन्धान भइरहँदा नेपाली श्रमिकको मलेसिया जाने बाटो नै बन्द भएको छ। नयाँ श्रमिकको प्रक्रिया दुई महिनादेखि ठप्प छ । गत असोज १५ देखि नयाँ श्रमिकको बायोमेडिकल स्वास्थ्य परीक्षण रोकिएको छ । त्यसपछि नयाँ श्रमिकका लागि कलिङ भिसा जारी हुन सकेको छैन । मलेसियाले आफ्नो नयाँ विदेशी श्रमिक व्यवस्थापन प्रणाली एफडब्लूसीएमएसमार्फत नेपालबाट कामदार पठाउन २५ वटा मुख्य म्यानपावर कम्पनी छनोट गरेको छ । ती २५ कम्पनीको मातहतमा २५० वटा सहायक कम्पनी राख्ने व्यवस्था पनि अघि सारेको छ । तर, नेपालमा एक हजारभन्दा बढी म्यानपावर कम्पनी सञ्चालनमा छन् । यस्तो अवस्थामा सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने मलेसियाको निर्णयप्रति नेपालले आपत्ति जनाएको छ । नेपाल पुरानै प्रणाली कायम राख्नुपर्ने अडानमा छ । मलेसिया भने आफ्नो नयाँ प्रणालीबाट पछि हट्न तयार छैन । यही विवादले नयाँ श्रमिकको बायोमेडिकल दर्ता रोकिएको छ। भिसा प्रक्रिया पनि प्रभावित भएको छ ।
नेपालले दुई देशबीच संयुक्त कार्यदलको बैठक राखेर समस्या समाधान गर्ने प्रस्ताव गरेको छ। तर, मलेसिया २५ मुख्य र २५० सहायक कम्पनीको संरचना कायम राख्ने अडानमा छ । दुई देशबीचको यही असमझदारीको मार भने रोजगारीका लागि मलेसिया जान खोज्ने नेपाली श्रमिकमाथि परेको छ । नयाँ प्रक्रिया रोकिँदा हजारौँ श्रमिक अन्योलमा छन् । कसैले मेडिकल गराइसकेका छन् । कसैले म्यानपावर कम्पनीलाई पैसा बुझाइसकेका छन् । कोही ऋण खोजेर विदेश जाने तयारीमा छन् । तर, कहिले उड्न पाइन्छ भन्ने टुंगो छैन ।
एकतिर श्रमिकको खल्तीबाट अर्बौं रुपैयाँ उठाइएको प्रकरणको अनुसन्धान जारी छ । अर्कोतिर, रोजगारीका लागि मलेसिया जान खोज्ने हजारौँ नेपालीको भविष्य अन्योलमा छ । ठगी गर्नेहरू को हुन्, कसले संरक्षण ग¥यो र कसले गैरकानुनी बाटो खोल्यो भन्ने प्रश्नको जवाफ सरकारले दिन सकेको छैन । श्रमिकको पसिनाबाट उठाइएको रकमको हिसाब खोजिनुपर्छ । दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ । तर, अनुसन्धानको नाममा रोजगारीको ढोका बन्द गरेर श्रमिकलाई थप पीडा दिन मिल्दैन। सरकारले ठगी प्रकरणको निष्पक्ष छानबिनसँगै मलेसिया रोजगारीको अवरुद्ध प्रक्रिया तत्काल खुलाउन पनि पहल गर्नुपर्ने छ ।



















