
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक र लोकप्रिय मोबाइल गेम पब्जीबीच सम्झौता भएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र पब्जी मोबाइल निर्माता कम्पनी टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि वर्ल्डलिंक र पब्जीले नेपालमा यस गेमलाई थप परिस्कृत रुपमा प्रस्तुत गर्ने र खेलाडीहरुले राम्रो अनुभव गर्न पाउने बताइएको छ । उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङ विकास र विस्तारमा अभुतपूर्व कदम भएको दुवै कम्पनीले दाबी गरेका छन् ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत नेपालले मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा नेपाली गेमिङ समुदायको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने देखेर सहकार्य गरेको बताएका छन् ।
उनले अहिले यस खेलप्रति देखिएको आकर्षणलाई पूरा गर्न नवीनतम प्रविधिको साथ अघि बढ्न यो सम्झौता भएको बताएका छन् ।












