Logo
Logo

उड्ने अन्तिम तयारीमा पुग्दा…



त्यो बेला १५ हजार जुराउन मलाई सजिलो भएन । अहिले सम्झँदा लाग्छ– त्यो अवस्थाबाट पनि गुज्रिनु नै थियो, पैसा र मान्छे चिन्नलाई । अझ जीवनलाई नै चिन्नलाई । त्यो अवस्थाप्रति मलाई कुनै खेद छैन अहिले ।

सरोजले आशा गरेको त्यो डाक्टर मित्र कहाँबाट खाली हात फर्केर आए । पछि एक हजार लिन भनेर म कहिल्यै फर्केर गइनँ उनीकहाँ । उनको पैसा जम्मा गर्ने सल्लाहले भने केही काम गर्यो । यही कुरा मैले भरत दाइसँग भनेँ । भन्नुभयो– ‘हो नि त, त्यो एउटा उपाय छ नि !’

नजिकका डाक्टर मित्रहरूसँग पनि कुरा गरिहेरौँ न भन्ने कुरा भयो । सरोजको नजिकको डाक्टर मित्रहरू डा. भरतदेखि डा.अशोकानन्द मिश्र, डा. सोमनाथ अर्याल, डा. कृष्णबहादुर कर्माचार्य र डा. यन्तमणि प्रधान लगायतले एक–एक हजार दिने भएपछि ५ हजार त तुरुन्तै जम्मा भयो । केही नहुनुभन्दा बेसै भयो ।

मेरो सानो भिनाजु पूर्णमान मानन्धर आपदविपदको मान्छे (जसलाई पर्दा पनि सहयोग गर्ने) हुनुहुन्छ । पैसा खोज्दै गरेको थाहा पाएर आफैले ५ हजार दिनुभयो । १० हजार भएपछि अरुबाट धेरै आशा पनि गरिनँ ।

बरु सस्तो टिकट ‘ल्हासाको बाटो गए, रेलको बाटो भेटिन्छ, साङहाई जानलाई…’ भनेर कसैले सल्लाह दिएको थियो । त्यही बाटो एक्लै बच्चा बोकेर जान पनि आँट गरें ।


भिसा लिने काम फटाफट गरें । आमाछोरी दुबैलाई ६ महिनाको भिसा मिल्यो । त्यतिबेला चिनियाँ दूतावासमा कुरा गर्नको निम्ति सुमन श्रेष्ठले साथ दिए । उनले चिनियाँ भाषा जानेका थिए । त्यही बेलातिर महेश दाइले पनि पोष्टग्रयाज्युएसनको अवसर पाउनुभएको रहेछ ।

जब ब्यागेज चेक गर्ने ठाउँमा पुगेँ, पुलिसले मलाई त्यही ‘चिठी’ देखाएर ‘यसमा त डलर छ, तपाईँ जान पाउनु हुन्न…’ पो भन्न थाल्यो । म झसङ्ग भएँ । साथीले त मलाई चिठी भनेर डलर बोकाउन लगाएको रहेछ । मलाई रोऊँ कि हासौँ भयो ।


म जाने कुरा पनि थाहा थियो । फेरि पढ्न जाने खुसियालीमा उहाँको घरमा पार्टी बोलाइएको थियो – केही चिनियाँ पाहुनाहरू समेतलाई । म पनि गएँ । ती चिनियाँहरूले सोधे– ‘भिसा पायौँ त ?’ मैले जे हो, त्यही भनेँ– ‘छोरीलाई समेत ६ महिनाको मिल्यो ।’
यो कुरा उनीहरूलाई पनि पत्याउन गाह्रो भयो । विदेशी विद्यार्थीको परिवार र बच्चालाई समेत चीनमा लान पाउने कुरा त्यो बेलासम्म सुनिएकै थिएन । ‘अहो ! तिमी त भाग्यमानी रहिछौँ’ भने ।

म त चीन पुगिसकेकै सपना देखिरहेकी थिएँ । चीनका कलेजहरूमा छुट्टिको समय भएकोले केही नेपाली विद्यार्थीहरू घर फर्केका थिए ।

सरोजले मलाई बच्चा पनि भएकोले महिला विद्यार्थी साथी अल्पना श्रेष्ठसँग नामै दिएर सँगै आउनु भनेका थिए । म त एक्लै ल्हासाको बाटो त जान तयार भइसकेको मान्छेको निम्ति महिला साथीकै किन जरुरी पर्ला र भन्ने भयो ।

पुरानो ‘अध्ययन समूह’का एक ‘साथी’ पनि घर फर्किरहेको बेला भएर उनैसँग जाँदा सजिलो हुन्छ भन्ने सोच आयो । भेटघाट पनि भइसकेकोले नयाँ साथी खोज्ने काम गरिनँ र टिकटको बन्दोबस्तमा दौडिन थालेँ ।

पढाइरहेको स्कूलमा प्रिन्सिपललाई आफूले गरिरहेको प्रयासबारे केही खबर नगरी एकैपल्ट राजीनामा लेखेर बिदा लिएँ । उनीहरूलाई मेरो उपस्थिति बढि भइरहेजस्तो र आफैले छोडिदेओस् भन्ने चाहना भएको बुझिरहेकै थिएँ । भनेजस्तै आफैले छोड्ने दिन पनि आयो ।

यो दोस्रो राजीनामा थियो । पहिलो राजीनामा सरकारी स्थायी शिक्षकबाट दिँदा बलम्बुमा शिक्षक, विद्यार्थी, अभिभावक कोही खुसी थिएनन्, बसिदेओस् भन्ने भाव थियो । बच्चाहरूको त रुवाबासी नै सुन्न परेर मन भारी भएको कुरा कहिल्यै बिर्सिन सक्दिनँ । यसपालिको राजीनामा भने प्राइभेट स्कूलको ज्यालादारी कामबाट बिदा हुनका लागि थियो । दुबै पक्षलाई हलुका भएको थियो ।
पैसाको समस्या अझै बाँकी नै थियो । तर, खोज्ने काम बन्द भइसकेको थियो । जाने नै भइसकेपछि सरोजको पुरानो साथी विष्णुहरि नेपाललाई पनि एकपल्ट भेटेर जाऊँ र सल्लाह पनि गरुँ भन्ने भयो ।
एकदिन बिहानै पुगेँ । ‘ल्हासाको बाटो पो जाने सोच्दैछु…’ के भनेकी थिएँ, पैसाको समस्या बुझ्नु भएछ क्यारे । तुरुन्तै भाउजुसँग तीन हजार मागेर हातमा राखिदिनु भयो र ‘ल्हासाको बाटो बच्चा लिएर नजानुस्’ भनी सल्लाह दिनुभयो । मैले कृतज्ञता ब्यक्त गरेँ र फर्केँ ।

एकजना मित्र ध्रुब कसःजुले टिकट पनि चिनेको एजेन्सीबाट सस्तोमा लिइदिनुभयो । म खुसी भएँ ।

त्यसपछि थोरै बाँकी भएको पैसाले डलर साटेँ । त्योबेला सँगै जाने साथीले सोधेको थियो, ‘पुरै साट्दैनौँ ?’ भनेर । उनको अर्कै योजना रहेछ । त्यति थोरै साटेकोमा बैंकको मान्छे पनि छक्क परेका थिए ।

पछि जाने दिन पनि निश्चित भयो । साथीसँग जाने कुरा निर्णय भइसकेकोले उता सरोजलाई पनि त्यही कुरा भनेर लेखेँ । उनलाई त्यति चित्त बुझेको थिएन ।

एयरपोर्टसम्म पुर्याउन मेरी आमा, दिदी, भिनाजु जानुभयो । केही साथीहरू पनि मलाई बिदा गर्न पुगेका थिए । पहिलोपल्ट टाढाको यात्रामा हवाइजहाज चढ्ने भइयो । बच्चा पनि खुसी भई– बुवा भएको चीनमा जान पाउने कुराले । उसलाई नयाँ र सजिलो कपडा लगाईदिएकी थिएँ । चारवर्षकी फुच्चीको भुइँमा खुट्टै थिएन ।

छोरीलाई अझै बेला बेलामा बोक्नुपथ्र्यो । एउटा ठुलो सुटकेश र ह्याण्डब्याग पनि थियो । सँगै जाने साथी पहिल्यै एयरपोर्ट पुगिसकेका थिए । पुग्नासाथ भेट भयो । उनले मसँग भने–‘मेरो एउटा चिठी तिमीले बोकिदेउन है ! लेडिज ब्यागमा राख्न सजिलो हुन्छ …।’ एउटा चिठी त हो नि भनेर– मैले पनि सजिलै ‘हुन्छ’ भनेँ ।

बिस्तारै आ–आफ्नो पालोमा बाटो सर्दै गयौं । भर्नुपर्ने कागज पनि भर्दै गएँ । जब ब्यागेज चेक गर्ने ठाउँमा पुगेँ, पुलिसले मलाई त्यही ‘चिठी’ देखाएर ‘यसमा त डलर छ, तपाईँ जान पाउनु हुन्न…’ पो भन्न थाल्यो । म झसङ्ग भएँ । साथीले त मलाई डलर बोकाउन पो लगाएको रहेछ, ‘चिठी’ भनेर ! मलाई रोऊँ कि हासौँ भयो । त्यति धेरै खतराहरू मोलेर हिँडेको जीवनको बाटोमा बरु कहीँकहीँ पुलिससँग लडें होला । पुलिसबाट म सदा टाढै भएँ । यसपालि भने आफू पुरै अनविज्ञ थिएँ, परिवन्दमा पर्न पुगेछु ।

मैले जे हो त्यही नै भने– ‘साथीको चिठी भनेर मलाई दिएको ।’ शायद मेरो अबोधपन र साथमा बच्चालाई पनि देखेर होला, हतार पनि भइसकेकोले खासै केही कारबाही त गरेन । मैले साटेको पैसा पनि सबै सोधखोज गरेपछि पत्याए छ क्यारे– ‘अबदेखि कसैको पनि केही बोक्ने काम कहिल्यै नगर्नु है ।’ भनेर मेरो ब्याग फर्काइ दियो ।

धन्न पुलिस आफै पनि विवेकी परेछ । तर, ‘प्रथम ग्रासे मक्षिका पातः’ भनेजस्तो भयो । …

प्रतिक्रिया दिनुहोस्