Logo
Logo

शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन आज बुझाउँदै


945
Shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।

यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो ।

वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो ।

त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्