
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
प्रहरीले नेपालीलाई शरणार्थी बनाउने प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज सोमबार अपराह्न सरकारी वकिलको कार्यलायलाई बुझाएको हो ।
आरोपी ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अझै फरार छन् । यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने राय दिएको छ भने सार्वजनिक पद धारण गरेका बाहेकको हकमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय दिएको छ ।











