काठमाडौं । सोमबार च्यासिस भाँचिएको यात्री मोटरसाइकलको एउटा फोटो इन्टरनेटमा भाइरल बन्यो ।

फोटोमा धेरैले प्रतिक्रिया जनाए । मोटरसाइकल गुड्दागुड्दै च्यासिस भाँचिएको उनीहरुले दाबी गरेका छन् । कसैले मोटरसाइकल महँगो भएपनि गुणस्तर नभएको प्रतिक्रिया दिए भने कसैले नेपालको उत्पादन भन्दैमा गुणस्तर नै नभएको सामान खरिद गर्न नहुने बताए ।
फोटो भाइरल बन्दै गएपछि कम्पनीले उक्त फोटो परीक्षण समयको रहेको स्पष्टीकरण दिएको छ ।
कम्पनीले एक फेसबुक पोष्टमार्फत जरुरी सूचना जारी गर्दै भनेको छ,‘परिवेश नै नबुझी सामाजिक सञ्जालमा भाँचिएको फोटो भाइरल हुँदैछ । हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौँ । आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो ।’
नोट : यसअघि शीर्षकमा ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल’ भन्ने गएकाले सच्याइएको छ -सम्पादक
‘











