Logo
Logo
नक्कली शरणार्थी प्रकरण

अभियुक्तको पक्षमा बहस गर्ने वकिलको अभाव


18.3k
Shares

काठमाडौं । नक्कली शरणार्थी ठगी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्न वकिल तयार नभएपछि आइतबार साढे ४ बजे नै इजलास उठेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन करोडौँ ठगी गरिएको प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने वकिलको अभावमा आइतबार दुई घण्टा अगाडि नै सोमबारका लागि हेर्दाहेर्दैमा इजलास उठेको हो ।

शरणार्थी प्रकरणमा गत बुधबारदेखि प्रतिवादीको तर्फबाट थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ ।

यसैक्रममा आइतबार चारजना प्रतिवादीको पक्षमा बहस गर्न वकिल आएनन् । बहसका लागि वकिल नआएपछि न्यायाधीश न्यौपाने इजलासमै रिस पोखेका थिए ।

न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फ इंगित गर्दै भने, ‘जे हुन्छ सिस्टममा गर्नुपर्छ, हामीले यसरी अल्झाएर राख्न मिल्दैन । तपाइँहरुसँग सहमति गरेरै यो बहसको समय तोकिएको हो ।’ बहस सुन्नका लागि आफूले सकेसम्म धेरै समय दिने र आफू पनि समयमा बस्ने उनले बताए । ‘बरु म हात जोडेरै अनुरोध गर्छु । म ६ बजेसम्म पनि बसेर सुन्न तयारी छु’ उनले भने ।

बहस ढिलो भएपछि न्यायाधीशले वकिलहरुमाथि दवाब बढाउन थालेका छन् । चाँडोभन्दा चाँडो यो मुद्धालाई निकास दिनुपर्ने बताउँदै उनले भने, ‘हामीले यहाँबाट बाटो दिनुपर्छ, यहाँबाट आदेश दिएर अर्को बाटो खोलिदिनुपर्छ । चित्त बुझे बुझ्छ, नबुझे अर्को बाटो खोलिदिने हो ।’

न्यायाधीश न्यौपानेले यही मंगलबारभित्र बहस सकेर आदेशमा जानुपर्ने वकिलहरुलाई दवाब दिएका थिए । ‘तपाईंहरुले जसरी पनि मंगलबारसम्म बहस सक्नुुपर्छ । भोलि ठ्याक्कै ११ बजे आउँछु’, उनले भने, ‘तपाईँहरु पनि आउनुपर्छ, ११ बजेदेखि बहस थाल्नुपर्छ ।’ यति भनिसकेपछि बहस गर्ने वकिलको अभाव भएपछि इजलास उठेको थियो ।

आइतबार अधिवक्ताहरुले सरकारको सचिव टेकनारायण पाण्डे र अर्का अभियुक्त सन्दीप रायमाझीको पक्षमा बहस गरेका थिए । आइतबार सुरुमै टोपबहादुर रायमाझी छोरा सन्दीपको पक्षमा बहस भएको थियो । त्यसपछि अधिवक्ता राम घिमिरेले सचिव पाण्डेको पक्षमा प्रतिरक्षा बहस गरेका थिए ।

पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले भने इजलासमा बहस गर्ने पालोको दिन उपस्थित भएनन् । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा प्रतिरक्षा गर्नुपर्ने भएकाले आफू एकैपटक उपस्थित हुने सन्देश पठाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्