काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्धानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय समकक्षसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने समेत बताए । अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनीय रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ । हाम्रा अन्तर्राष्ट्रिय समकक्षसँग सहकार्य गरेर हामी विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझ राम्रोसँग सम्बोधन गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ ।’
उनले अगाडि थपे, ‘हाम्रा राष्ट्रका प्रतिनिधिकारूपमा हामीले हाम्रा नागरिकहरू भय र शोषणमुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्छ ।’ अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।














