काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतंकवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा बिहीबार काठमाडौंमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता सुरक्षा खतराको पहिचान गर्दै त्यसको सामनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सामूहिक प्रयासको खाँचो रहेको औँल्याएका हुन् ।
‘यस सन्दर्भमा म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु’ उनले भने, ‘यी उदीयमान खतराहरूलाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदानप्रदानका साथै आपसी समन्वय गरी सामना गर्नुपर्छ ।’
नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीको सामना गर्न सक्छौँ भन्ने दृढविश्वास रहेको बताए ।
विश्व सुरक्षित र न्यायपूर्ण छ भनेर सुनिश्चित गराउन विभिन्न सङ्घसंस्था र संयन्त्रलाई बलियो बनाउँदै असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणलाई पनि सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले राष्ट्रका प्रतिनिधिका रूपमा हामीले नागरिकलाई त्रास र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुका साथै न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त पालना गर्दै विश्वमा शान्ति सुरक्षाका पक्षमा सहज वातावरण निर्माण गर्न आवश्यक रहेको उनले औँल्याए ।
इन्टरपोलको सिद्धान्तलाई कायम राख्न नेपाल प्रहरीको समर्पण र प्रतिबद्धताका लागि प्रधानमन्त्री प्रचण्डले बधाई दिए । संयुक्त राष्ट्रसंघसँग नेपाली सुरक्षा निकायको सहकार्यले नेपालमा मात्र नभई विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा पनि शान्ति, स्थिरता र विधिको शासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे ।
‘हाम्रा सुरक्षा अधिकारीहरूले संयुक्त राष्ट्र शान्ति मिसनहरूमा भाग लिएका छन् । उनीहरुले खतरनाक स्थान तथा कठिन परिस्थितिमा पनि शान्ति र सुरक्षाका लागि योगदान पु¥याएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको यो अवसरमा म शान्ति सैनिकको हैसियतमा कर्तव्य पालना गर्दै आफ्नो जीवन आहुति दिने सम्पूर्ण वीर आत्माहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।’
अहिलेको डिजिटल युगमा अपराधीहरूले प्रविधिको दुरुपयोग गरी विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको सन्दर्भमा प्रहरीको सहयोग महत्वपूर्ण रहेको उनले बताए । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउँदै गर्दा अन्तर्राष्ट्रिय प्रहरी सहयोग प्रवर्द्धनमा राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) काठमाडौंको प्रयास महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
एनसिबी काठमाडौँले नेपाल र अन्य सदस्य राष्ट्रहरूबीच सञ्चार र समन्वयलाई सहजीकरण गर्दै अन्तर्राष्ट्रिय अपराधविरुद्धको लडाइँमा योगदान पुर्याउँदै आएको उनले स्मरण गरे । यस अवसरमा विश्वव्यापी सुरक्षा चुनौतीको सामना गर्न तथा सबैका लागि सुरक्षित वातावरण निर्माणमा मिलेर काम गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सबै समुदायलाई एकजुट भएर एकआपसमा सहकार्य गर्न अनुरोध गरे ।
साथै, प्रधानमन्त्री प्रचण्डले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको समेत बताए ।














