धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३९ किलो सुन कहाँ गयो भन्दै सरकारसँग प्रश्न उठाएका छन् । ब्रेक शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुनको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले सो प्रश्न गरेका हुन् ।
गत साउनमा बरामद भएको सुन सुरुमा करिब एक क्विन्टल भनिएको र जोख्दा १५५ किलो भएको थियो । तर, राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर निकाल्दा करिब ६१ किलो मात्र भएको पुष्टि भएको थियो ।

आइतबार पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको आरोप लगाए । अधयक्ष ओलीले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो ?’ सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको उनको भनाइ छ ।














