
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।
आज मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ्) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्नेसमेत बताए । मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडदारमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे ।
उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।
त्यस्तै कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाऊ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडा दर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराए ।














