चितवन । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कहिल्यै सत्तामा फर्किन पाउँदिन कि भनेर विक्षिप्त भएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशीको घटनाक्रमलाई जोड्दै एमालेलाई उक्त आरोप लगाएका हुन् ।

कांग्रेसका शेखर पक्षका ८ सांसदले एमालेसँग मिलेर मुख्यमन्त्री भएपछि प्रचण्डले एमालेप्रति लक्षित गर्दै अभिव्यक्ति दिए । तर एमालेले गठबन्धन विभाजन गर्न खेलेको षड्यन्त्र असफल पारेको दाबी गरे । गठबन्धन सरकार नै पूर्ण कार्यकाल रहने उनले दाबी गरे ।
‘कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरी निकै विक्षिप्त भएका छन् । सायद तपाईँले महसुस गर्नुभएको होला । अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीति परिदृश्य तपाईँले देख्नुभयो होला, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे यहाँ खेल्न सकिन्छ कि यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत यो काम भएका थिए ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग एउटा सम्झौता गरेको र उक्त सम्झौतलाई निस्तेज पार्न एमाले षड्यन्त्र गरिरहेको पनि उनले आरोप लगाए ।
उनले भने, ‘तर हिजो प्रधानमन्त्रीको हैसियतले म, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको नेतृत्वमा एउटा सहमति भएपछि, त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ । अब यो गठबन्धन पूर्ण कार्यकाल यही स्पिरिडमा देश र जनताको पक्षमा काम गर्ने विश्वास मत तपाईँलाई दिलाउन चाहन्छु ।’
सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा राम्रो काम गरेको एमालेलाई मन नपरेकाले के गरी गठबन्धन कमजोर पार्ने, के गरी यो गठबन्धन उल्टाउने भन्ने योजनामा लागेको आरोप लगाए ।
यो गठबन्धन सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने नेपाललाई राजनीति स्थायित्व र गतिशील बनाउने प्रक्रिया रहेको पनि उनले जिकिर गरे ।














