
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनले सो आरोप लगाएका हुन् । सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनका सवालमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको उनको भनाई थियो ।
‘आन्तरिक रुपमा हामीसँग बार्गेनिङ छदैँ थियो । पहिलो कार्यकाल नाउपालाई दिनसक्ने हामीसँग सहमति भएको थियो,’ उनले भने, ‘तर, यो समीकरणबाट नाउपालाई समर्थन नगरेर कांग्रेस केन्द्रित समीकरणबाट गर्ने, दक्षिणपन्थी अवसरवादको चरित्र नांगो ढंगबाट देखियो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गर्दैछन् ।’
जनतामा आशा पलाइरहेको बेलामा अहिले आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउनेगरी नेकपा एसले कदम चालेको उनले बताए ।














