Logo
Logo

फरक क्षमताका सागर सुनारकाे सगरमाथा चढ्ने तयारी


7.2k
Shares

काठमाडौं । फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन् । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लागेका हुन् ।

सगरमाथा आरोहण तयारीबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताए । उनले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताए । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उनको योजना छ ।

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लागेका उनले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिए । ‘सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु पर्याे । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,’ आरोही सुनारले भने ।

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउँछन् । उनले भने, ‘हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।’

भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहेका दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताए । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गरिसकेका छन् । सगरमाथासहित ७ वटा महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्