Logo
Logo

दर्शक बढेपछि गल्याङ महोत्सव तीन दिन थप


6.5k
Shares

गल्याङ । दर्शकहरूको चाप बढ्दै जान थालेपछि स्याङ्जाको तल्लो गल्याङ बजारमा जारी तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सवलाई तीन दिन लम्बाइएको छ ।  ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित गल्याङ उद्योग वाणिज्य संघले २०८० चैत्र २९ गतेबाट महोत्सव आयोजना गरेको थियो ।

गल्याङ उद्योग वाणिज्य संघका महासचिव ऋषि बस्याल (जिम्वाल कान्छो)ले दर्शक, नगरवासी, उद्योगी, व्यापारी, व्यवसायीहरूले महोत्सवको समय लम्बाउन आग्रह गरेकाले यही आउँदो वैशाख १२ गते सम्मलाई समय थप गरिएको बताए । उनले यहाँका मौलिक कला संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । 

बस्यालका अनुसार, हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बाल उद्यान, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, हस्तकला, कृषि, खाना लगायतका अन्य व्यापारिक स्टलहरू महोत्सवका आकर्षक रहेका छन् ।

महोत्सवमा कूल  १ सय ४० स्टल छन् । महोत्सवमा डेढ करोडको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । स्थानीय व्यापारी व्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिइएको छ । उद्योग वाणिज्य संघको सदस्यता लिएकाहरूले कृषि र हस्तकलाका स्टल निःशुल्क राख्न पाउने छन् ।

महोत्सवको उद्घाटन पूर्व कानुनमन्त्री धनराज गुरुङले गरेका थिए । उद्घाटनको क्रममा मन्त्री गुरुङले यहाँका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको प्रचार गर्न महोत्सव कोषे ढुङ्गा साबित हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्