Logo
Logo

मेगा ड्रिम सहकारीको २१ करोड अपचलन : तीन जनालाई थुनामा पठाउन आदेश


189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको मेगाड्रिम सहकारीको करोडौं रकम अपचलन प्रकरणमा अदालतले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आज (बुधबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पक्राउ परेका चार जनामध्ये तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए । पक्राउ परेका सहकारीका उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र संयोजक उमाकान्त न्यौपाने पुर्पक्षका लागि थुनामा पठाइएका हुन् ।

सहकारीका सदस्य शरदकुमार अधिकारीसँग भने सात लाख धरौटी माग गरिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार यस सहकारीको बचतकर्ताको करोडौं रकम अपचलन गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । त्यसमा थुनछेक बहस भई बुधबार आदेश भएको हो ।

प्रहरीले यस सहकारीको अनुसन्धान सकेर जेठ २३ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सहकारीमा १० जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादी बनाइएकामध्ये अध्यक्षसहित ६ जना फरार छन् । अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिनकुमार कार्की, सदस्यहरू राजकुमार श्रेष्ठ, प्रकाश घिमिरे, लेखासुपरिवेक्षण समिति सदस्य शुभद्रा चौलागाई र शेखर बस्नेत फरार छन् ।

उनीहरूविरूद्ध १६२ जना पीडितले जाहेरी दिएका छन् । उनीहरूले जम्मा गरेको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो । सरकारी वकिलले उनीहरूविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा २ अनुसार ठगी गरेको भन्दै सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्