काठमाडौं । नेकपा एमालेका निष्कासित नेता भीम रावलले आफूमाथिको कारबाही अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी, तानासाही मनस्थितिको उपज भएको आरोप लगाएका छन् ।
एमालेको आज बसेको सचिवालय बैठकले रावललाई सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको छ । एमालेको उक्त निर्णयपछि एमाले अध्यक्ष ओलीले लामो समयदेखि कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएको बताए ।

त्यस्तै ओलीले साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर आफूविरुद्ध खनिएको उनको आरोप छ । हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि यो ओलीको एकल निर्णय भएको उनको दाबी छ ।
उनले भने, एमालेको सचिवालय बैठकले आज जुन निर्णय गरेको छ । यो पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो ।’
आफू दसौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षको उम्मेदवारी दिएका कारण पनि ओलीले आफूलाई पार्टीबाट हटाएको नेता रावलको भनाइ छ ।
उनले भने, ‘ओली आफूलाई एकछत्र तानासाहको रूपमा दसौँ महाधिवेशनमा प्रदर्शन गर्न चाहन्थे । मैले एमालेको नीति, विधि, जनताको बहुदलीय जनवाद अन्तर्गतको विचारको प्रयोग गरेर उम्मेदवारी दिएको थिएँ । मैले पनि स्वाभाविक रूपमा उम्मेदवारी दिएको हुँ । तर, उनले तानासाही, हैकमवादी प्रवृत्तिलाई चुनौती दिएको भनेर पनि उनमा आक्रोश थियो ।’














