Logo
Logo

पाथीभरामा केबलकार निर्माणले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ : अध्यक्ष ढकाल


378
Shares

काठमाडौं । पाथीभरा देवी केबलकार प्रालिले केबलकार निर्माणले पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने बताएका हुन् ।

केबलकार निर्माणलाई लिएर विभिन्न तर्क–वितर्क भइरहेपनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने उनको भनाइ छ । अध्यक्ष ढकालका अनुसार परियोजनाले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ, जसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

हाल पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका व्यक्तिहरूलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि छ । ‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

२.७५ किलोमिटर लामो केबलकार लाइनमा ३६ यात्रुवाहक गोन्डोला र २ वटा सामान बोक्ने गोन्डोला रहनेछन् । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म १० मिनेट ३१ सेकेन्ड मात्र लाग्नेछ । परियोजना वातावरणमैत्री हुने दाबी गर्दै ढकालले भने, ‘केबलकार विद्युतीय यातायात भएकाले प्रदूषण हुँदैन। काट्नुपर्ने प्रत्येक रूखबापत २५ नयाँ रूख रोप्नेछौं ।’

केबलकार निर्माणलाई लिएर उठेका असहमति समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच वार्ता टोली गठन भएको छ । यसबारे ढकालले भने, ‘हामीलाई सरकारले सर्तसहित अनुमति दिएको छ, त्यसैले अनुमतिअनुसार नै काम अघि बढाउँछौं ।’
उनका अनुसार परियोजनाबाट आर्जन हुने नाफाको केही हिस्सा स्थानीय स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गरिने छ । ढकालले धार्मिक, आर्थिक र पर्यटन विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्