
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ ।
आज बिहान जरिवानाको पत्र बुझाउन गएका टोलीलाई भित्र जान नदिई गेटबाटै फिर्ता पठाइएपछि नगर प्रहरी बलले हुलाकमार्फत पत्र पठाएको हो । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाइएको जानकारी दिए ।
गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तिनकुने, कोटेश्वर क्षेत्रमा आगलागी र तोडफोडका घटना भएका थिए । त्यसपछि महानगरले सडकमा फोहोर गरेको, दमकल फुटाएको लगायत विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।














