Logo
Logo

रास्वपालाई लोकतन्त्र विरोधी देखाउने प्रयास भयो : गणेश पराजुली


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले आफ्नो पार्टीलाई लोकतन्त्रको विपक्षमा रहेको देखाउने प्रयास भइरहेको आरोप लगाएका छन्। मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुई तिहाइको सरकार र तीन दलको सिन्डिकेटले रास्वपालाई सर्वदलीय बैठकमा नबोलाएको आरोप लगाएका छन् । 

पराजुलीले भने, ‘रास्वपाले स्थापना कालदेखि नै लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा प्रस्तुत गरेको दस्तावेजलाई बेवास्ता गर्दै पार्टीलाई लोकतन्त्र विरोधीझैँ देखाउन खोजिएको छ। यसबारे पार्टी सभापति रवि लामिछानेले हिजो नै भर्त्सना गरिसक्नुभएको छ।’

१६४ दिनपछि पार्टीमा फर्किएका सभापति लामिछानेले आफ्नो जिम्मेवारी सम्हालेपछि बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेलाबाट तय भएका कार्यक्रमहरू सम्पन्न गर्न र महाधिवेशन समयमा सम्पन्न गर्न विभिन्न योजना अघि सारेको पराजुलीले बताए।

यही चैत २३ गतेबाट सुरु हुने ‘जनयात्रा’ रास्वपाको जनता भेट्ने अभियान हो। ‘जनतासँग संवाद नगरीकन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीबारे निर्णय गरिएमा जनताको म्यान्डेट अधुरो हुन सक्छ,’ उनले भने।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको दाबी गर्दै पराजुलीले अब प्रणालीमा सुधार गर्न जरुरी रहेको बताए। ‘जनताको आवाज सुनेर मात्र हामीले देशको शासन प्रणालीबारे ठोस निर्णय गर्न सक्छौँ, त्यसैले पार्टी जनतामाझ जान लागेको हो,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्