
काठमाडौं । सुनसरी प्रहरीले अपहरणमा परेकी बालिकाको २४ घण्टापछि उद्दार गरेको छ ।
कोसी गाउँपालिका ७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी ७ वर्षीय छोरी ईशु सदाको पूर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको कोसी व्यारेजस्थित २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरिएको हो । उनी चैत २० गते घरबाटै अपहरणमा परेकी थिइन् ।
उनलाई अपहरण गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
डीएसपी खतिवडाका अनुसार पक्राउ पर्नेमा भारतको रानीगञ्ज बस्दै आएका सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुरका जितेन्द्र साह (हलुवाई) रहेका छन् ।
प्रहरीका अनुसार बालिकाको परिवारसँग उनको चिनजान रहेको आधारमा उनले बालिकालाई फ्रुटी खान दिएर आफूसँगै लिएर गएको अनुसन्धामा खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।














