काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै चैत्र २० गतेदेखि अन्दोलनरत शिक्षकहरुले सिटी जुलुस निकालेका छन् । प्रदर्शनको चौथो दिन आज शिक्षकहरुले काठमाडौंमा सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

सरकारलाई ध्यानाकर्षण गराउन विरोधस्वरुप उनीहरुले ¥यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन् । त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ ।

शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।














