काठमाडौं । बुधबार राति आएको हावाहुरी र चट्याङका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । रुख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा समस्या उत्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी र कुइने(बाबियाचौर)वीरेन्द्रनगर ३३ केभी लाइन पूर्ण रूपमा अवरुद्ध भएका छन् । हाल कोहलपुर–सुर्खेत लाइन रामघाटसम्म मात्र सञ्चालनमा छ भने अन्य स्थानमा मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।
धेरै ठाउँमा रुख र पोल ढलेको कारण सेवा पुनःस्थापनामा समय लाग्ने जनाइएको छ । अझै पनि पश्चिम सुर्खेततर्फको क्षति पत्ता लाग्न बाँकी छ ।
यी दुई लाइनमार्फत कर्णालीका सबै १० जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको हुँदा, अवरुद्ध हुँदा सबै जिल्लामा सेवा प्रभावित भएको हो।














