Logo
Logo

जसलाई मृत्युले छोड्यो, उसैले मृत्यु रोजे !


6k
Shares

मकवनापुर । पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए । बिहान अबेरसम्म नउठेपछि झयालबाट हेर्दा ढुंगाना झुन्डिएको अवस्थामा देखिएपछि हटवालले प्रहरीलाई खबर गरेका थिए ।

उनी सुतेको कोठामा रहेको कपडा राख्ने दराजबाट टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुण्डिएको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थलमा चुँडिएको अवस्थामा पेटीसमेत भेटिएको छ । उनले लगाएको पेटीले पासो लगाउने प्रयास गर्दा चुँडिएपछि खादा र टाई जोडेर डोरी बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनाबाट ज्यान जोगिएर नयाँ जीवन पाएका उनले किन आत्महत्या गरे होलान् ? परिवार र शुभचिन्तक सबैले अहिले प्रश्न गरिरहेका छन् ।

प्रहरीका अनुसार ढुंगाना दुर्घटनामा परेको बसका सञ्चालक समेत हुन् । भ्रमणमा रिजर्भ गरेर लगिएको बस विमलकै थियो । विमल सोही दुर्घटनाकै कारण आत्महत्या गर्ने स्थितिमा पुगेको हुन सक्ने आफन्तहरूले अनुमान गरेका छन् ।

आफ्नै सवारी क्षति, घाइतेहरूको उपचार गराउनेदेखि मृत्यु भयो भने के गर्ने भन्ने चिन्ता सहन नसकेको हुन सक्ने हेटौँडा अस्पतालमा पोस्टमार्टम रिपोर्ट कुरेर बसिरहेका छिमेकीहरू बताउँछन् । भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीका अनुसार बस दुर्घटनापछि ढुंगाना आत्तालिएका थिए ।

यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्याम लगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान–चतरा सडकखण्डमा दुर्घटनामा परेको थियो ।

मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानीमा आइपुगेपछि उक्त टोली सवार बागमती प्रदेश ०६–००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो । बसमा सवार ३१ जनामध्ये ढुंगनासहित २३ जना घाइते भएका थिए ।

विगत ५ वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्