Logo
Logo

लथालिङ्ग देशको भताभुङ्ग चाला


1.8k
Shares


डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएको चार महिना नपुग्दै दुनियाँ हल्लाउने कयौँ निर्णय गरिसके । उनले विश्व जगतलाई नै प्रभावित गर्ने कार्य योजनाहरू धमाधम अघि बढिरहेका छन् ।

यता, नेपालमा भने निर्वाचन सम्पन्न भएको तीन वर्ष नाघ्न लाग्दा पनि सरकारले आफ्नो लय पत्ता लाउन सकेको छैन । विकास र समृद्धिका त कुरै छाडौँ, सरकार आफ्ना प्रशासनिक निकायमा आफ्ना कार्यकर्ता भर्ना गर्नुभन्दा पर पुग्न सकेको छैन । त्यसैमा पनि बदलाभावसहित आफ्नालाई काखी च्याप्ने र अघिल्लो सरकारले नियुक्ति गरेकालाई न्याक्ने योजनासहित सरकार अघि बढेको छ ।

देशमा जताततै आन्दोलन र विरोधका लहरहरू उठेका छन् । काठमाडौँका हरेक सडक र गल्लीहरूमा विभिन्न रुपले सरकारप्रति असन्तुष्टि जनाइरहेका दल तथा समूहका विरोध ¥यालीहरू दैनिकजसो देखिन थालेका छन् । राज्यले जब आफ्नो उत्तरदायित्व बहन गर्न सक्दैन, तब देशमा यस्ता असन्तोषका लप्काहरू देखिनु एक हिसाबले स्वाभाविक पनि हो ।

खासमा यसबाट सत्तासीनहरूले गहिरो पाठ सिक्नु पर्ने हो, यद्यपि, हामीकहाँ त्यसो देखिएको छैन । बरु कसरी हुन्छ त्यसलाई खिसीटिउरी गर्ने र झनै उग्रता थपिदिएर देशलाई द्वन्द्वको बाटोतिर धकेल्ने प्रयत्न विगतमा पनि भएकै हुन् र अहिले पनि भइरहेको छ ।

एकातिर नयाँ नयाँ प्रायोजित काण्ड सार्वजनिक गरिदिने र फेरि अर्कोतिर छुटै हंगामा मच्चाएर त्यसको विषयान्तर गरिदिने ओली सरकारको नित्यकर्म जस्तै बनेको छ । राज्यले जनस्तरबाट भइरहेका खबरदारीलाई स्वीकार गर्दै आफ्ना कमजोरीहरू सच्याउनुको साटो नियोजित रुपमा नागरिकमाथि नै बलमिच्याइँ गर्नु शोभनीय मानिँदैन । राज्य शक्तिको भरमा आफ्ना आपराधिक गतिविधिलाई बढवा दिँदै जाने र नागरिकका खबरदारीलाई निस्तेज पार्न खोज्ने अहंकारयुक्त विचारले देशमा सधैं खतरापूर्ण स्थितिको पैदा गरिरहन्छ ।

अहिले मुलुकमा नीतिगत भ्रष्टाचार मौलाइरहेको छ । त्यसबाट जोगिन सत्तासीनहरूले अनेक नौटङ्की गरिरहेका छन् । यसैको उपज विगतदेखि नै देशभर सानाठूला विरोधका स्वरहरू उठिरहेका छन् । पटकपटक जनस्तरबाट खबरदारी पनि भइरहेकै छन् । तथापि मुठ्ठीभर मान्छेहरूको कब्जामा परेको राज्यले यसको सुनुवाइ गर्ने छनकसम्म देखाउँदैन । राज्यसत्ताको नेतृत्व गर्नेहरू दिनभर भ्रष्टाचारको विरोध गर्छन् र बेलुका दलालहरूको कमिसनयुक्त तमसुकमा हस्ताक्षर गर्छन् ।

विगत ३० वर्षअघि सत्तामा जो थिए आज पनि त्यहाँ उनीहरूकै हालीमुहाली छ । व्यवस्था परिवर्तन भएसँगै उनीहरू परिवर्तित रूप लिएर आज पनि सत्ताकै ओछ्यानमा ढल्किरहेका छन् । हिजो उनीहरूले लुकेर गर्ने काम आज हाकाहाकी गर्छन् । हिजो कानुनको छिद्र खोजेर बदमासी गर्नेहरू आज कानुन नै बदलेर भ्रष्टाचार गर्छन् । सीमित सम्भ्रान्तहरूको मात्रै हैकम चल्ने राजनैतिक संस्कारभित्र जनस्तरको दुब्लो विरोधाभासलाई कसले सुनिदिने ?

यसैमा अर्को आश्चर्यजनक कुरो के छ भने, विपक्षी दल र फरक धारले सरकारका कामकारबाही विरुद्ध आन्दोलन गर्नु स्वाभाविकै हो । तर यहाँ त सत्तारूढ दल नै बेलाबेला आन्दोलन र शक्ति प्रदर्शनमा उत्रनुपरेको छ ।

संसद्, सत्ता र सरकारमा बसेर राज्यको ढुकुटी दोहन गरिरहेकाहरूले कसलाई देखाउन गर्ने शक्ति प्रदर्शन ? कसका विरुद्ध लगाउने जिन्दाबाद र मुर्दावादका नारा ? आफै अधिकार दिने ठाउँमा पलेटी कसेर बसेकाहरूले कोसँग के माग्नका लागि गर्ने आन्दोलन ? राज्यकोबाट पैसा झिकेर सडकमा तमासा गर्न मिल्छ ? आफ्नै पँधेरोमा भ्रष्टाचारी र बिचौलियाको मूल फुटाउनेहरूले कसलाई औँला उठाउन निकाल्ने हो– बेमौसमी गाइजात्रा ? आफ्नै बिग्रिएको मति सुधारेर थितिको चलन चलाउने कि बतुराएर भित्तो कोपर्ने ? अहिलेको सत्तापक्षले देशमा यो बडो विचित्रको संस्कार देखाएको छ ।

यो सरकार यति व्यस्त छ कि– गत असोजमा बाढी पहिरोले मच्चाएको वितण्डाले कति क्षति पु¥यायो भन्ने वैशाख लागिसक्दासमेत पत्तो पाउन सकेको छैन । हिजोआज बल्ल क्षति आकलन गर्न समिति गठन गराउने छलफल चल्दै छ ।

जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकहरू अझैसम्म पालमुनी गुजारा चलाउँदै छन् । यता प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर गरेर पार्टीको जिल्ला अधिवेशन, होटेल उद्घाटन र बिहे भोजमा सामेल हुन भ्याइनभ्याइ छ । मन्त्रीहरू कहिल्यै सुरु नहुने योजनाका कमिसन र टेन्डरतिरै व्यस्त छन् ।

कुलमानलाई विद्युत् प्राधिकरणबाट हटाएदेखि लोडसेडिङले फेरि आँखा झिम्क्याउन थालेको छ । काठमाडौँका जुनसुकै सडक र गल्लीहरूमा पनि दैनिक सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी भइरहेका छन् । नागरिकमा यतिविधी असन्तोष र घृणा उत्पन्न भइसक्दा पनि दुइतिहाइ सरकारको दम्भ ‘बिसको उन्नाइस’ हुने छनक देखिँदैन ।

आफू सुध्रिनु त परैको कुरा, विरोधका विरुद्ध विरोध ¥याली र शक्ति प्रदर्शन भन्दै स्वयं सत्तासीन दल र प्रधानमन्त्री नै कोणसभाहरूमा कार्यकर्ताहरूलाई उग्रताको प्रवचन दिइरहेका देखिन्छन् । यी सबै परिवेशलाई देखेर वाक्कदिक्क भएर ‘देशमै केही गर्छु’ भन्ने युवा परदेश पलायन हुन बाध्य छन् । समग्रमा भन्दा यतिबेला देशको राजनीति लथालिङ्ग र मुलुकको अवस्था झनै भताभुङ्ग बनेको छ । नयाँ वर्ष २०८२ को शुभकामना ।

प्रतिक्रिया दिनुहोस्