Logo
Logo

रूखमा फलेको घडी


2.3k
Shares

यसपाली म फेरि मेरो डायरीमा फर्कें– तीनदशक भन्दा अघिका ती दिनहरूमा । अघिल्लो शताब्दीको अन्तिम दशकमा जापान भ्रमण कसरी भएको थियो भन्नेबारे लेख्दै थिएँ । निशिकावाले बनाएको ‘जापानी पोखरा’को एउटा गाउँलाई लामो समयको दुरीबाट फर्केर हेर्दैछु ।

जीवन अनुभव र अनुभूतिको संग्रह पनि हो भन्छन् कतिले । कहिले–कहिलेको अनुभूतिले अझैसम्म पनि अचम्मित पार्छ । कति कुरा सम्झँदा मात्र पनि मन आनन्दित हुन्छ । कति कुराले भने मनलाई अझै पनि अमिलो, तीतो बनाउँछ ।

आफैले आफैलाई भन्न मन लाग्छ “त्यो बेला त्यस्तो भैदिएको भए कति बेस हुन्थ्यो ! त्यसो नभएको भए हुन्थ्यो …।’’ विगतको कुरा सम्झनु भनेको यस्तै त हो ! अविरल बगिरहेको वर्तमानमा बाँच्छौँ हामी, मनलाई वर्तमानमै राख्नु पर्ने हो । तर मान्छे न हौँ ! विगतका अनुभूति र संवेदनाहरू सम्झनामा यसरी गाडिएका हुन्छन् कि तिनलाई नसम्झिनु सम्भव नै हुँदैन ।

ग्रामीण साइतामाको एक बिहानी निशिकावा र म मात्रै थियौँ– उनको उही ‘रिल्याक्स गेष्ट हाउस’ मा । उनले मलाई भनिन्– “तिमीले अब त जापानको गाउँ पनि देखिसक्यौ । यहाँ वरिपरी स–साना जङ्गल पनि छन् । एक्लै घुमौँ जस्तो लाग्दैन ? तिमी त शान्त वातावरण मन पराउँछौ नि ! मन छ भने एक्लै हिंड़े पनि हुन्छ । यहाँ केही डर मान्नु पर्दैन ।’’

गएको राती पानी परेको थियो । बाटो अझै सुकिसकेको थिएन । निशिकावाको कुरा सुनेपछि एकपल्ट साँच्चै नै एक्लै त्यो जङ्गलमा पस्न र एकान्त वातावरणको अनुभव गर्न मन लाग्यो । डुल्न मन पराउने मान्छे म । “जाउँ त ?’’ भनेर फेरि अनुमति मागेँ । ब्रेकफास्ट खाइसकेका थियौं हामी दुवैले । उनले “हुन्छ, जाउ ! म लन्च बनाउँदै गर्छु’’ भनिन् । म एक्लै हिँडेँ ।

हिँड्दा हिड्दै बाटोमा एउटा रुखको हाँगा भेटेँ– लट्ठी बनाउन मिल्ने । त्यो बोकेँ । आफू फेरि किशोरावस्थामा पुगेको महसुस भयो । साथीहरूसँग गाउँ गाउँ डुल्ने गरेको याद आयो । बाटोभरी एक्लै त्यही लट्ठी घुमाउँदै बच्चा जस्तो भएर हिडेँ । मनभरी साथीहरूको माया, अनि आफ्नै छोरी र बुढालाई सम्झदै वरिपरी हेर्दै बिना गन्तव्य हिँडिरहेँ ।

आफूसित घडी पनि थिएन । समयको कुनै पावन्दि पनि थिएन । स्वतन्त्र थिएँ म । वातावरण सफा थियो । भर्खरै भिजेको माटोको सुगन्ध सँगै जङ्गलका बोटबिरूवा र फूल पातको वासना मिस्सिएको थियो । कतै कतै मन्दिर जस्ता लाग्ने स–साना संरचना पनि देखेँ । वरीपरीका रुखका पातहरुबाट रातको वर्षाको पानीका थोपाहरु अझै टल्किरहेकै थिए ।

हिँड्दाहिँड्दै एउटा रुखको हाँगामा केही टल्केको देखेँ । छेउमा गएर हेर्दा– एउटा लेडिज घडी रहेछ । म छक्क परेँ– रुखमा घडी फले जस्तो देखेर । सपना झैं लाग्यो । घडी नयाँ नै देखिन्थ्यो । अलिकति हिलो पनि लागेको थियो । “कसको घडी होला ? किन बेवारिसे भएर यहाँ झुण्डिएको होला …?’’ मनमा अनेक प्रश्न आए । वरिपरी कोही थिएन । आफ्नो हातमा घडी छैन । टिपुँ कि जस्तो पनि लाग्यो । तर तुरुन्तै मनमा आयो– “त्यत्तिकै टिप्नु त हुँदैन …।’’

तर त्यो घडी देखेपछि अगाडि बढ्न मन पनि लागेन । फर्केर आफ्नी अभिभावक निशिकावालाई सुनाउँ जस्तो लाग्यो । हुन त उनीहरुको निम्ति कुनै ठुलो कुरा नहोला । तैपनि सुनाउन हतार लाग्यो । मनमा एउटा कौतूहल बोक्दै म फर्केँ ।

निशिकावाले छक्क पर्दै सोधिन् – “छिट्टै फक्र्यौ त ? हिँड्न मन लागेन ?’’ मैले बाटोमा देखेको कुरा सुनाएँ । मेरो कुरा सुनेर उनले अलिकति पनि अचम्म मानिनन् । हाँस्दै भनिन् “टिपेर ल्याएको भए भइहाल्थ्यो नि ! तिमीले घडी किन्छु भनेकी होइन टोकियोमा ? यहाँ सित्तै पाएको बेला किन नलिएको त ?’’ म ट्वाँ परेँ ।

कतै उनले नै मेरो निम्ति राखिदिएकी त होइन भन्ने प्रश्न पनि उठ्यो मनमा । तर कसरी ? उनी त बाहिर निस्केकै थिइनन् ! मलाई कुरा बुझाउन खोजे झैँ भनिन् – “आफूलाई नचाहिने सामान बाटोमा त्यत्तिकै राखिदिने गर्छन् यहाँ । शहरमा भए त्यस्तो सामान राख्ने निश्चित ठाउँ हुन्छ । यहाँ त जङ्गल न हो ! बाटोमा खसेको कसैले देखेर टिपेर बाटोमा आउने मान्छेको आँखा परोस् भनेर झुन्डाइदिएको पनि हुनसक्छ …’’ अनि हाँस्दै भनिन् – “तिम्रो घडी छैन भन्ने कुरा गडले थाहा पाएर तिम्रै निम्ति त्यो घडी राखिदिएको हुन पनि सक्छ । गडले दिएको गिफ्ट हो त्यो । फर्केर जाउ र खुरुक्क टिपेर ल्याउ ।’’ म जिल्ल परेँ । अझै आदेश दिए झैं गरी “जाउ, त्यो घडी तिम्रै निम्ति हो, लिए हुन्छ …’’ भनिन् ।
उनको कुरा सुनेर म साँच्चै फर्केर गएँ उही बाटोबाट । अझै पनि बाटो सुनसान नै थियो । त्यो घडी टिप्दा मेरो हात भने काँपिरहेको थियो । निशिकावाले जस्तो ‘गड’ को कुरा सोच्न भ्याएकी पनि थिइन त्यतिबेला । त्यतिबेलासम्म म अझै नास्तिक नै थिएँ । अनि “जनताबाट सियो र धागो पनि नलिनु’’ भन्ने अनुशासनमा हुर्केकी थिएँ ।

उबेला क्रान्तिमा लाग्नेहरू अहिले राजनीति गर्नेहरूजस्ता भ्रष्ट भइसकेका थिएनन् । तर आदेशजस्तो लाग्ने निशिकावाको आग्रहले त्यो घडी टिपेँ । अनि हातमा लिएँ, लगाइहाल्ने आँट गरिनँ । कालो छालाको ब्याण्ड भएको ‘अल्बा’ घडी थियो ।

मैले चाहे जस्तैको अंकवाला घडी, त्यसमा लागेको हिलो पुछेपछि झनै नयाँ देखियो । त्यो बोकेर निशिकावालाई देखाउन लगेँ । उनी फेरि हाँस्दै भनिन् – “सुलो ! युनिभर्सले दिएको एउटा राम्रो उपहारको रुपमा लेउ यसलाई ।’’

जापान पुगेपछि घडी किन्छु भन्ने सोँचेकी थिएँ । तर महङ्गो लागेकोले फर्किने बेलासम्म पैसा बचेछ भने किनुँला भनेर पर्खेकी थिएँ । पुरानो घडी छोरीलाई नेपाल फर्किने बेला लगाइदिएकी थिएँ । आवश्यक परिहाले हेरुँला भनेर बुढाको घडी ब्यागमा बोकेकी थिएँ । सपनामा पनि घडी किनेको देखेकी थिएँ, घडीको आवश्यकता सम्झेर होला । तर यसरी जङ्गलमा यो महिला घडी नै भेट्नु एउटा अचम्मको संयोग थियो । यस्तो किन हुन्छ ? बुझ्न सकिरहेकी थिइनँ ।

आफ्नो एकपैसा खर्च नगरि एउटी भाग्यमानी पाहूनाको रुपमा जापान जानु, नुरिकोले गोप्य रुपमा खाममा पैसा राखिदिनु, “तिम्रा पाठकहरूको तर्फबाट है !’’ भनेर साथीहरूले मलाई थप पैसा दिनु … अनि उनीहरूको त्यति न्यानो आतिथ्य … यो सबले मलाई धेरै नै ऋणी बनाएको छ । कसरी र कहिले तिर्ने होला त्यो ऋण !

प्रतिक्रिया दिनुहोस्