Logo
Logo

नेपाल बैंकको २० अर्ब रुपैयाँ कता गायब ?


5.9k
Shares

काठमाडौँ । केही दिनयता नेपाल बैंकबाट २० अर्ब ४० करोड हराएको सूचना बाहिरिएको छ । कुन शीर्षकमा सो रकम वेपत्ता भयो भन्ने केही जानकारी छैन । यद्यपि, नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा खोजीका लागि उजुरी परेको छ । बैंकबाट हराएको २० अर्ब ४० करोड १५ लाख बढी रकम खोजी गर्न माग गर्दै बैंकका शेयरधनी अंगराज भारतीले महालेखापरीक्षकको कार्यालयमा उजुरी गरेपछि सबैको चासो बढेको हो ।

बैंकबाट साना तथा मझौला उद्योग कर्जा शीर्षकमा २०७४ चैत र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी, दोषीलाई कारबाही गर्न माग गरिएको छ । ‘बैंकहरूले उत्पादनशील क्षेत्रमा के कति कर्जा प्रवाह गरेका छन् भनी अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरू अध्ययन गर्ने क्रममा बैंकले करिब २० अर्ब ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो ।’, उजुरीमा भनिएको, ‘सो विषयमा के भएको हो ? विस्तृत अध्ययन गरी अपचलन गर्ने जो कोहीलाई पनि आवश्यक कारबाही गर्न हार्दिक अनुरोध गर्दछु ।’

बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योगतर्फ कर्जा सीमा रु ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोही समयमा बैंकको वास्तविक कर्जा रु ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आइपुग्दा सोही शीर्षकमा कर्जा सीमा रु २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ ।

नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ । राष्ट्र बैंकअनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ ।

राष्ट्र बैंकले रु ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।

त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुई वटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले उजुरी गरेका हुन् ।

यो उजुरी पर्नुअघि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारीलाई नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ । सस्तो ब्याजमा ऋण मिलाइदिने भन्दै बैंकका ऋणीबाट कमिसन (घूस) लिएको, कमिसन रकम चालकको बैंक खातामा जम्मा गरेको, सवारीसाधनको दुरुपयोग गरेको लगायत आरोपमा राष्ट्र बैंकले अधिकारीलाई कारबाही गरेको हो ।

‘नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारीले ऐनविपरीत काम गरेको, सञ्चालकको अनुशासन पालना नगरेको लगायत कसुरमा ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरिएको छ । उक्त जानकारी सम्बन्धित बैंकलाई पठाइसकिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । उनी अहिले नेपाल बैंकमा जान छाडिसकेका छन् । अधिकारीलाई सरकारले नेपाल बैंकको अध्यक्षमा २०८० असोज पहिलो साता ४ वर्षका लागि नियुक्त गरेको थियो ।

उनी नियुक्त भएको केही महिनापछि नै ऋणीलाई कर्जा मिलाइदिन्छु भन्दै कमिसन माग्ने गरेको पाइएको थियो । ऋण प्रक्रिया पूरा नहुँदै अधिकारीले केही ऋणीबाट कमिसन उठाइसकेका र उनको सिफारिसमा आएका केही ऋण मागको आवेदनलाई बैंक व्यवस्थापनले ऋण नदिएपछि उनको घुस प्रकरण बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्