Logo
Logo

चिचिबुको अन्तिम भेटघाट


2.9k
Shares

साइतामाको एउटा रमणीय ठाउँ हो चिचिबु । त्यहीँ हो निशिकावाले “रिल्याक्स गेष्ट हाउस’’ बनाएको । मैले त्यो गेष्ट हाउसलाई “निशिकावा प्याराडाइज’’ नाम दिएकी थिएँ । उनको निम्ति भने त्यो नै सानो “पोखरा’’ पनि थियो ।

निशिकावालाई म संसारकै असल मान्छे मध्येकी ठान्छु म । कतिसम्म भने जिस्किएर “मेरी आमा’’ सम्म पनि भनिदिन्छु । कति पवित्र मन छ उनको ! उनीबाट कसैलाई हानी नोक्सानी हुने त कल्पना पनि गर्न सकिँदैन ।

कुनै कुरामा कसैको इष्र्या गरेकोसमेत मलाई थाहा छैन । उनी जहिले पनि शान्ति चाहन्छिन्, स्वतन्त्रता पनि । आफ्नै खालको जीवनशैली छ उनको । मिहेनत गर्छिन् । चाहिएजति आराम पनि गर्छिन् । अरुले जस्तो पैसाको निम्ति नै मरिमेट्ने बानी छैन । न कुनै लोभ छ, न कुनै भड्किलो जीवनशैली ।

उनको सरल जीवनशैली देख्दा कति सरल मान्छे लाग्थ्यो पहिले । केही त मेकअप गरे पनि हुने नि भन्ने पनि लाग्थ्यो । अचेल भने यस्तो लाग्छ वास्तवमा जीउने कला त उनले पो सिकेकी रहिछन्, अनावश्यक भारी नबोकी बाँच्न त उनले पो जानेकी रहिछन् ।

टोकियो छोड्नुभन्दा अगाडि उनीसँग पेटभरी कुरा गर्नु थियो । मनभरीको आभार पनि पोखाउनु थियो । म जापानमा यसरी भाग्यमानी पाहूनाका रूपमा बस्न पाउनुको मूल कारण नै उनीसँगको आत्मीय सम्बन्ध थियो । र उनले मलाई यसरी बुझ्नसक्नुको कारण थियो– चीनको युनिभर्सिटीमा हामी रुममेट भएर बस्न पाउनु ।

उनैका साथी सुसुमुले मलाई सल्लाह दिएका थिए– लेखनबाट केही आर्जन गर्ने । विद्वान सुसुमुले नै मेरो प्रत्येक लेखलाई भ्याई नभ्याई अनुवाद गरेर जापान पु¥याइदिएका हुन् । यस्तो राम्रो संयोग जीवनमा हत्पति भेटिँदैन ।

टोकियोबाट रेल चढेर एक्लै पुगेकी थिएँ चिचिबु, जम्मा दुई दिनको निम्ति भनेर । नेपाली पढाएर केही पैसा पाएकी थिएँ । अलिकति उनलाई बुझाउन मन लाग्यो । मेरो मनले भनिरहेको थियो– यी साथीहरूको मात्र कति खाने ? उनी पनि जीविकाकै निम्ति गेष्ट हाउस बनाएर बसेकी थिइन् टोकियो सहरभन्दा टाढा सुनसान ठाउँमा । तर यसबारे उनी मसँग कुरा नै गर्न मानिनन् । एकछिन् त रिसाएजस्तो नै गरिन् । उनको भावना बुझेपछि म पनि चुप लागेँ । “तिमी मेरो कुनै जन्मकी आमा होलाउ’’ भनेँ । उनी हाँसिन् । बेलुकी अबेरसम्म दुईजना कुरा गरेर बस्यौं । अलिकति थाकेँ पनि बिहानैदेखि व्यस्त भएकोले ।

त्यहाँ पुग्ने दिन बिहानै सुसुमुसँगै टोकियोमा भएको चिनियाँ दूतावास पुगेर फेरि चीन फर्कनको निम्ति भिसा लिनुपर्ने थियो । त्यो औपचारिक कामको निम्ति पनि केही थप परिश्रम त गर्नै प¥यो । सुसुमुसँग व्यवहार गर्न ज्यादै सजिलो लाग्थ्यो मलाई । उनलाई जे कुरा पनि थाहा छ भन्ने लाग्थ्यो ।

जापान बस्नको निम्ति भिसा त अझै बाँकी नै थियो । तर सरोज नेपालबाट चीन फर्किसकेकोले छिटो शाङ्हाई फर्किनु भन्ने फोन पनि आइसकेको थियो । मैले “अझै केही दिन नेपाली पढाएर बस्ने विचार छ’’ भन्दा घुक्र्याउँदै “पैसा कमाउन म पनि कतै जाउँ त…?’’ भन्ने खालको चिठी आइसकेको थियो ।

त्यसैले पनि जापानको समय छोट्याएर म फेरि शाङ्हाई नै फर्किने तयारी गर्दै थिएँ । बीचमा ओसाका, क्योटो… आदि ठाउँमा जान पनि बाँकी नै थियो । बुढाको चिठीको प्रभाव, काठमाडौंमा अस्पताल खोल्ने योजनाको निम्ति जापानी साथीहरूसँग कुराकानी गर्न बाँकी, आदि कुराले पनि मेरो मनमा अनेक कुरा खेलिरहेका थिए ।

निशिकावासँग अन्तरंग कुरा गर्दागर्दै थाकेर भुसुक्क निदाएछु म त कतिबेला । त्यो बेला गाउँमा पनि साकुरा फुलिनै रहेको थियो । निशिकावाले फेरि साकुरा देखाउन लगिन् । साकुरासँग पनि मेरो आत्मीयता बढ्दै थियो । म अत्यन्त खुसी थिएँ त्यो वातावरणमा ।
त्यहाँबाट टोकियोतिर फर्किने बेला पुरानो जापानी शैलीको लामो कोटजस्तो एउटा ज्याकेट उपहार दिइन् मलाई । हामी फेरि अंगालोमा बाँधियौँ । अर्कोपालि नेपालमा भेट्ने बाचा गर्दै उनको त्यो “पोखरा’’, त्यो सानो स्वर्गबाट म बिदा लिएर टोकियो फर्किएँ ।

धेरै कुरा स्वचालित जस्तै भइसकेको त्यहाँको प्रणालीमा एक्लै रेल चढ्न त मलाई सिकाइ सकेका थिए साथीहरूले । जापानी भाषा भने अझै सिकेकी थिइनँ । तर जापानमा पनि ठाउँहरूको नाम भने चिनियाँ अक्षरसँगै मिल्ने “खान्जी’’मा लेखिएको हुन्थ्यो । त्यसले पनि मलाई राम्रै भयो । केही आत्मविश्वास पनि दिएको थियो ‘खान्जी’को ज्ञानले ।

तर टोकियो फर्किँदा बीचमा अर्को एउटा रेल फेर्नु पर्ने थियो । रेल फेर्ने बेला गलत ढोका छानिछु । ढोकाले बाटो छेके पनि मैले जबर्जस्ति गरेर पसेँ– हतारमा अलमल नगरुँ भनेर । तर अर्कोतिर पुगिछु । रेल छुट्यो । म ढिलो भएँ एक घण्टा । त्यतिन्जेल मेरा साथीहरूको बीचमा धेरै कुराकानी भैसकेछ । चिन्ता पनि लागेछ– सुसुमु र निशिकावा दुवैलाई ।

अहिले जस्तो मोबाइल फोन आइसकेको थिएन । समयको एकदम ध्यान दिनुपर्ने तिनीहरू मलाई कहाँ खोज्ने, के गर्ने भएर आत्तिइसकेका रहेछन् । नजानेर भनुँ या बढि जान्ने हुन खोज्दा साथीहरूलाई थप दुःख दिन पुगिछु ।

टोकियोको स्टेशन पुग्दा बाहिर पानी परिरहेको थियो । एक त ढिलो भएको थियो । त्यसमाथि पानी परिरहेको छ । आफूसँग छाता पनि थिएन । मलाई एकातिर चिन्ता लागिरहेको थियो अर्कोतिर आफूले गरेको गल्ती पनि थाहा थियो । तर पनि जसोतसो टोकियो त पुगेँ । तर निथ्रुक्क भिजेर कसरी सुसुमुको डेरामा पुग्ने भन्ने लागिरहेको थियो ।

रेल स्टेशनबाट बाहिर निस्किँदा त सुसुमु मेरो निम्ति छाता बोकेर पर्खिरहेका रहेछन् । मलाई लाज पनि लाग्यो, भावविभोर पनि भएँ । कस्तो असल अभिभावक जस्ता मित्र ! उनी आत्तिएर बसिरहेका रहेछन् । “तिमी बेलामा नपुगेकोले हामीलाई चिन्ता लागिसकेको थियो । उताबाट बेलैमा हिंडेको खबर पाएको थिएँ …। यता कोठामा भने अझै पुगेको छैन ! के भयो होला भनेर हामीबीच कतिपल्ट फोन भैसक्यो…!’’

यस्तो बेला के भन्ने थाहा भएन । लाज लागिरह्यो । ‘सरी’ भनिरहेँ । ट्रेन फेर्ने बेला आफूले गरेको गल्तीबारे सुनाएँ । धन्न जापान सुरक्षित देश भएर केही भएन । सुसुमुको डेरामा पुग्ना साथ खुइय लामो सास फेरेँ । त्यसरी छातासमेत लिएर पर्खिने साथीलाई के भनेर आभार व्यक्त गरूँ जस्तो भयो । म निःशब्द थिएँ !

प्रतिक्रिया दिनुहोस्